भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाएर नेपालीलाई विदेश पठाउन सक्रिय रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पुरानो बानेश्वरको अमेरिकन युरोपियन एजुकेसन काउन्सिल प्रालिमा शनिबार छापा मारी प्रहरीले नक्कली कार्डसहित विराटनगर पिचराका सुजन दाहाल, डडेल्धुरा बेलापुरका लोकबहादुर विष्ट र स्याङजा लेवाका नरेन्द्र भण्डारीलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट बरामद भएको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसिआरको नक्कली परिचय पत्रसमेत प्रहरीले आइतबार सार्वजनिक गरेको छ।
उनीहरू भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाई प्रतिव्यक्ति १२ लाख रुपैयाँ लिएर क्यानडा पठाउन सक्रिय रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
उनीहरूले बनाइदिएको कार्डकै आधारमा भुटानी शरणार्थीका लागि ल्याइएको पुनर्वास कार्यक्रमअर्न्तगत नेपाली नागरिकलाई क्यानडा पठाउँदै आएको खुलेको सिआइबीका अनुसन्धान अधिकृत डिएसपी प्रवीण पोखरेलले बताए।
पोखरेलका अनुसार विष्ट र भण्डारी उक्त कम्पनीका सञ्चालक हुन्। कम्पनी बिक्री गरे पनि दाहाल त्यहीं काम गर्दै आएका थिए। एक वर्षअघि सो समूहका मुख्यव्यक्ति विष्णुबहादुर कार्की ठगी अभियोगमै पक्राउ परेपछि दाहालले कम्पनी बेचे पनि उनी नै मुख्य सञ्चालक रहेको अनुसन्धानबाट खुलेको छ। कार्की सोही अभियोगमा डिल्लीबजार कारागारमा छन्।
क्यानडा जान चाहनेहरूलाई उनीहरूले प्रालिको नाममा कुमारी बैंकको खातामा १२ लाख रुपैयाँ जम्मा गर्न लगाउने गरेका थिए। विष्णुबहादुर ढकाललगायत १६ जनाले सो खातामा रकम जम्मा गरेको प्रहरीले जनाएको छ।
ब्युरोका अनुसार कुमारी बैंकको उनीहरूको खातामा दुई करोड तेत्तीस लाख सत्ताइस हजारको कारोबार देखिएको छ। सो समूहले एक सय ३६ जनासँग रकम लिएको खुलेको छ। जसमध्ये १८ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। ‘उनीहरूले चार जनालाई क्यानडा पठाइसकेको देखिए पनि परिचय खुल्न सकेको छैन,’ डिएसपी पोखरेलले भने।