वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय करण ऐर, काठमाडौं महानगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, मोरङको बेलबारी नगरपालिका-२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ बस्ने ३६ वर्षीय प्रेम पुरी, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४२ वर्षीय अच्युत दुलाल र कालिकोटको खाँडाचक्र नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ३५ वर्षीय बिर्ख बहादुर विक रहेका छन्।
पक्राउ मध्ये करणले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ, सुनिताले युरोप पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ, प्रेमले जापान पठाइदिन्छु भन्दै १ सय १४ जना पीडितहरूबाट २ करोड २५ लाख रुपैयाँ, अच्युतले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख रुपैयाँ र बिर्खबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले करण र सुनितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार, अच्युतलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बाट आइतबार, बिर्खबहादुरलाई काठमाडौं महानगरपालिका-१६ बाट शनिबार र प्रेमलाई काठमाडौं महानगरपालिका-३ बाट शुक्रबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।