वैदेशिक रोजगारीमा जाने श्रमिकसँग नगद कारोबार बन्देज

4 May, 2026

वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिने सेवा शुल्कबापतको रकम म्यानपावर कम्पनीले अनिवार्य रूपमा बैंकिङ च्यानलमार्फत नै बुझ्नुपर्ने भएको छ । श्रमिकबाट नगदमा ठुलो रकम बुझ्ने र औसतमा १० हजार रुपैयाँ मात्रै बैंकिङ च्यानलबाट बुझ्ने विकृति झाँगिँदै गएको र ठगी पर्ने श्रमिकलाई क्षतिपूर्ति दिलाउन मुस्किल भएको भन्दै वैदेशिक रोजगार विभागले म्यानपावरलाई बैंकिङ च्यानलमार्फत मात्रै सेवा शुल्क बुझ्न परिपत्र गरेको हो ।

श्रमिकलाई पनि सेवा शुल्कबापत बुझाउनुपर्ने रकम नगदमा नदिन विभागले अनुरोध गरेको छ । म्यानपावरलाई बुझाएको रकम बैंकिङ च्यानलमा देखिए ठगी गरेको उजुरी प्रमाणित हुँदा क्षतिपूर्ति दिलाउन सजिलो हुने विभागले जनाएको छ । ‘नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पुर्‍याउन कठिन हुने भएकाले कुनै पनि इजाजतपत्रवाला संस्था, सो संस्थाका सञ्चालक, संस्थासँग आबद्ध कर्मचारी–प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारमा जानका लागि या वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगर्नु–नगराउनुहुन अनुरोध छ,’ विभागले भनेको छ । म्यानपावरले पनि बैंकिङ च्यानलबाहेक नगदमा कारोबार गरेको भेटिए कारबाही गर्ने पनि विभागको चेतावनी छ ।

हाल खाडी मुलुक जानका लागि प्रतिकामदार १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउने प्रावधान छ । तर, म्यानपावर व्यवसायीले डेढ लाखदेखि चार लाख रुपैयाँसम्म लिएर श्रमिकलाई दुःख दिइरहेको गुनासो विभागमा पुग्ने गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024