वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँचजना पक्राउ

2 January, 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १६ बस्ने उदयपुरगढी गाउँपालिका– ३, उदयपुरका २६ वर्षीय विश्व ठकुरी उर्फ विश्वविक्रम सेन, काठमाडौं टोखा नगरपालिका– ९ बस्ने त्रियुगा नगरपालिका– १२, उदयपुरका ४४ वर्षीय अर्जुनकुमार निरौला, काठमाडौं महानगरपालिका– १० बस्ने ४८ वर्षीय गोपाल भन्ने प्रेम श्रेष्ठ, काठमाडौं महानगरपालिका– ७ बस्ने फिदिम नगरपालिका– १२, पाँचथरका ३८ वर्षीय पूर्णबहादुर तुम्ब्रोक तथा ललितपुर महानगरपालिका– २३ बस्ने पनौती नगरपालिका– १२, काभ्रेका ४० वर्षीय राजकुमार खड्का रहेका छन्।

प्रहरीका अनुसार विश्व, अर्जुन र प्रेमले एन्डोरा पठाइदिन्छु भन्दै नाैजना पीडितबाट ५९ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। यस्तै, पूर्णबहादुरले अस्ट्रिया पठाइदिन्छु भन्दै दुईजना पीडितबाट चार लाख रुपैयाँ र राजकुमारले स्पेन पठाइदिन्छु भन्दै एकजना पीडितबाट आठ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विश्व, अर्जुन, प्रेम र पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका– ९ क्षेत्रबाट तथा राजकुमारलाई काठमाडौं महानगरपालिका– ७ क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका विश्व, अर्जुन र प्रेमलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने पूर्णबहादुर र राजकुमारलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024