वैदेशिक रोजगारमा जानेले २ सय डलर मात्रै साट्न पाउने

22 January, 2019

वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा पाउने भएका छन्।

राष्ट्र बैंक मुद्रा बिनिमय व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरभन्दा बढीको सटही सुविधा नदिन भनेको छ। यसअघि ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा रहँदै आएको थियो।

‘रोजगारीमा जानेहरुका लागि २ सय अमेरिकी डलर पर्याप्त हुन्छ’ विभागका प्रमुख भिष्मराज ढुंगानाले भने ‘उ कामका लागि विदेश पुगेपछि खान, बस्नको व्यवस्था रोजगारदाताले गर्छ।’

यसअघि पाँच सय अमेरिकी डलरको सुविधा हुँदा विदेश पुगेपछि नेपाली कामदारसँग धेरै डलर जोगिने तर यता डलरको संचितीमा बढी असर पर्ने भएकाले यस्तो व्यवस्था गरिएको ढुंगानाले बताए।

पछिल्लो समय शोधनान्तर स्थिति घाटामा गएको छ भने राष्ट्र बैंकको डलर संचितीमा समेत कमी आएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तसम्म १० अर्ब ८ करोड रहेकोमा मंसिर मसान्तसम्म आउँदा ७.९ प्रतिशतले घटेर ९ अर्ब २९ करोडमा झरेको छ।

मुलुकको शोधनान्तर स्थिति यस अवधिसम्म ८५ अर्ब घाटामा छ। डलरको संचिती घट्दै गएपछि पछिल्लो समय राष्ट्र बैंकले सटही सुविधामा कडाई गरेको हो।

यसअघि शिक्षा, आप्रवासन तथा स्वास्थ्यका लागि विदेश जानेले ५ हजार बढी अमेरिकी डलर सटही गर्नुपरेमा प्यान नं. अनिवार्य चाहिने व्यवस्था गरेको थियो।

त्यस्तै विदेश भ्रमणमा जानेले कात्तिकअघिसम्म प्रतिव्यक्ति २५ सय डलर लैजान पाउने व्यवस्थालाई घटाएर हाल १५ सय अमेरिकी डलरसम्म कायम गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024