वैदेशिक रोजगारको पीडा : महिलालाई मात्रै लाञ्छना किन ?

5 February, 2020

‘पैसा पठाउनु त परको कुरा, मेरो बुढा साउदीबाट फर्केर घर समेत आएन ।’ वैदेशिक रोजगारमा गएकाका आफन्तहरुको भिडबाट आवाज आयो । सबैको ध्यान त्यतैतिर गयो । मनमाया (नाम परिवर्तन) रोकिएकी थिइनन् । ‘अन्तै अर्की बुढी ल्याएर राखेको छ, साउदी जाने बेलामा काढेको डेढ लाख ऋण तिर्न सकेको छैन, दुइटा बालबच्चाको बिचल्ली छ । ’

फुस्रो अनुहार, जिग्रिङ्ग परेको कपाल, अनि थाकेका आँखा लिएर टुसुक्क बसेकी बाक्सीलाकी मनमायाको पीडा पोखियो । अरुले श्रीमान्, छोरा, भाइ, भतिजाले विदेशबाट पठाएको पैसाको चर्चा गरिरहँदा एक्कासी मनमायाको पीडाले भेलाको माहोल बदलिदियो । उनी भन्दै थिइन् ‘उसले अर्को विवाह गरेपछि घरमासमेत हेला गर्न थाले, अहिले माइतीमै बसेकी छु ।’

मनमायाको बिवाह दर्ता पनि भएको छ । तर, बालबच्चाको जन्म दर्ता हुन पाएको छैन । उनका अनुसार साउदी पुगेको केही समयसम्म फोनमा कुराकानी हुने गरेको थियो । एकाएक त्यतिकै फोन गर्न छाडेको र नेपाल फर्किनेवित्तिकै अर्को विवाह गरेको उनी बताउँछिन् ।

‘सुनेकी छु, मैले मुद्दामामिला गर्छु, सम्पत्तिमा अंश माग्छु भनेर फेरि विदेश गएको छ रे, तर मैले उजुरी गरेको छैन । कुनै न कुनै दिन फर्केर आउँछ भन्ने लाग्छ ।’

मनमायाको व्यथा सुन्दै गर्दा मेरो मनमा अरु त्यस्तैखाले घटनाको झझल्को आइरहेको थियो ।

डेढ वर्षअघि सिन्धुलीमा एकजना महिला त्यस्तै समस्या लिएर आएकी थिइन् । अमृता (नाम परिर्वतन) का श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गएका रहेछन् । मनमायाको भन्दा फरक यहाँ अमृताका श्रीमानले मलेसियामा रहँदा पैसा पठाइरहेकै थिए । अमृताले सकेजति जोगाएर राखिन् ।

तीन वर्षपछि मलेसियाबाट फर्केका श्रीमानसँगै बस्न पाउँदा उनी निक्कै खुशी थिइन् । तर, त्यो खुशी धेरै दिन टिकेन । अचानक श्रीमानसँग खुशी अनि सुखी जिन्दगी बिताउने अमृताको सपना तुहियो ।

श्रीमान मलेसियाबाट फर्केर करिब एक हप्तासम्म अमृतासँगै बसे । बुढाबुढीबीच विदेशबाट कमाएर ल्याएको पैसाले सर्लाहीमा घडेरी किन्ने निधो भयो । ‘घडेरी किन्न ६ लाख रुपैयाँ बोकेर हिँडेका श्रीमान फर्किएनन्, नातामा साली पर्ने केटीलाई भगाएर काठमाण्डौ पो गएछन्’ उनी भन्थिन् ‘मेरी बैनी पर्ने केटी भगाउलान् भन्ने मैले कल्पनासम्म गरिनँ । तर, पापीले त्यही गर्‍यो ।’

सुरुमा घडेरी किन्न भनेर हिँडेका श्रीमान एकाएक सम्पर्कविहीन भएपछि उनले प्रहरीमा उजुरी गर्ने तयारी गरेकी थिइन् । आफन्तहरुमार्फत त्यो कुरा उनका श्रीमानसम्म पुगेछ । त्यसपछि फोन गरेका श्रीमानले रुखो स्वरमा उनलाई भनेछन् ‘मैले अर्को विवाह गरिसकेकी छु । तँ पनि आफ्नै बाटो लागे हुन्छ ।’

सुरुमा अमृताले त्यो कुरा पत्याइनन्, बुढाले मजाक गरेको भन्ने ठानिन् । किनकि उनले श्रीमानलाई कहिल्यै शंकाको भावले हेरेकी थिइनन् । न त्यसरी हेर्नुपर्ने अवस्थाको सिर्जना श्रीमानले गरेको महसुस उनले गरेकी थिइन् ।

बुढा आउलान् भनेर बसेको केही दिनपछि त्यही केटीले अमृतालाई भिनाजुसँग विवाह गरेको भनेपछि उनी झसँग भइन् । त्यसपछि अमृता जागिन् र प्रहरी कार्यालयमा उजुरी गरिन् । ‘उसले कान्छी श्रीमतीलाई काठमाडौंमा कोठामा राखेर कतार गएको छ भन्ने सुनेकी छु,’ छोराको अनुहार हेरेर श्रीमान आउने आशामा आफ्नो दिनचर्या काटिरहेको बताउँदै उनी भन्छिन् ।

पोखरास्थित एक होटलमा सरसफाइको काम गर्ने नमिता (परिवर्तित नाम) एकदिन पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली आइपुगिन् । मैले विदेश किन जान लाग्नुभएको भनेर सोधेँ । उनले झट्टै जवाफ फर्काइन् । ‘श्रीमान खोज्न ।’

यस्तो जवाफले मलाई झन खुल्दुली बढायो । उनलाई आफ्नो बारेमा बताउन भनें । उनले निर्धक्कसँग बताइन् पनि ।

गर्भमा तीन महिनाको बच्चा छोडेर श्रीमान चाहिँ मलेसिया गएका रहेछन् । पारिवारिक सरसल्लाहबाटै उनी विदेश गएका थिए । मलेसिया गएपछि पैसा त पठाएनन्, पठाएनन, एकपटक फोनसमेत गरेनन्,’ उनले भनिन् ‘श्रीमान् विदेशमा वेपत्ता भए भनेर चारैतिर हारगुहार पनि गरें । तर, एक दिन श्रीमानलाई फेसबुकमा खोज्दा अर्कै केटीसँगै बसेको फोटो देखें ।’

मैले धेरैपटक फेसबुकमा म्यासेज गरें । तर, एक अक्षर पनि रिप्लाइ गरेनन् । श्रीमानका साथीमार्फत कुरा बुझें । मलाई मलेसिया जान्छु भनेर गएको बुढो त पोखरामा अर्को विवाह गरेर पो बसेका रैछन् । उसकै साथीको सहायतामा मैले पोखरामा श्रीमानलाई भेट्टाउन सफल भएँ । आवेगमा उसकी कान्छीलाई मैले कुटपिट पनि गरें । तर, त्यही दिन कोठाबाट भागेका उनी फर्किएर आउँदै आएनन् ।

कान्छी पनि गर्भवती भइसकेकी रहिछे । मलाई श्रीमानले छाडेर गएको २ वर्ष बितिसकेको थियो । डेढ बर्षको छोरा साथमा लिएर गएकी म पोखराकै एउटा होटलमा काम गर्दै उतै बसें । श्रीमान आएका छन् कि भनेर बेला–बेलामा उसको कोठामा जान्थें । तर, कहिल्यै भेटिनँ । ७ महिनाकी गर्भवती कान्छीको उता बिचल्ली थियो । उसले कान्छीलाई पनि मलाईजस्तै गर्भाअवस्थामै बिचल्लीमा पारेर हिँडेको थियो । सुरुमा रीसले कुटे पनि पछि उसका आँखामा मैले आफूलाई नै देख्न थालें । पछि उनी सुत्केरी भइन्, मैले नै सुत्केरी स्याहारें । सायद उ उसलाई पनि छोड्न बाहना खोज्दै थियो । म गएपछि त्यै मिल्यो । तर, अहिले उ मलेसियामा छ भन्ने जानकारी विश्वासिलो मान्छेबाट थाहा पाएकी छु । त्यसैले श्रीमान खोज्न मलेसिया जान लागेकी हुँ ।

नमिताका कुरा सुनिरहँदा मेरा आँखाबाट आँशु झरिसकेछन् । झन जीवनमा यस्तो परिस्थिति आउँदा उनलाई कस्तो भयो होला ? म कल्पनासमेत गर्न सक्दिनँ ।

नमितामा एक किसिमको आक्रोश थियो । ‘त्यसले मलाई जीवनमा यति दुःख दिएको छ कि, जहाँ जाओस् बदला लिएरै छाड्छु । दिदी मेरो गाडी छुट्छ, पोखरामा छोरा एक्लै छ, म जान्छु ल ।’

यत्ति भनेर उनी फुत्त निस्किएकी थिइन् । त्यसपछि के भयो होला भन्ने मनमा कौतुहलता छ । तर, त्यसपछि उनीसँग साक्षात्कार गर्न पाएको छैन ।

सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्न थालेपछि वैदेशिक रोजगारीका वा त्यसका नाममा भएका यस्ता थुप्रै घटनालाई नजिकबाट नियालेकी छु । विवाहपछि वैदेशिक रोजगारीमा गएका पुरुषले विदेशमै घरजम गरेको, नेपाल फर्केपनि घर नगएर दोस्रो विवाह गरी बाहिरै बसेको, विदेशबाटै श्रीमतीलाई घर छोड्न बाध्य बनाएका, घरमा छिमेकीबाट मात्रै नभई ससुरा, देवर, जेठाजुबाट समेत असुरक्षित भएर घर छोड्न बाध्य हुनु परेका घटना समाजमा अनगिन्ती भेटिन्छन् ।

तर, लाञ्छना महिलालाई मात्रै किन ? विदेश जानेका बुढी नै खराब भनेर किन हल्ला गरिन्छ ? किन आफूलाई बौद्धिक भन्ने वर्गले नै वैदेशिक रोजगारले गर्दा महिला बिग्रिए भन्छन् ? सामाजिक सञ्जालमा किन श्रीमान वैदेशिक रोजगारमा गएका महिलालाई लक्षित गरेर पेचिला स्टाटसहरु अपलोड गरिन्छन् ? अनि त्यस्तै खालका कमेन्ट गरिन्छन् ?

अरु त अरु, सञ्चारमाध्यमले समेत किन वैदेशिक रोजगारमा गएका पुरुषका महिलाले दोश्रो विवाह गरेको कुरालाई बिना अध्ययन प्राथमिकता दिएर छाप्छ ? तथ्य तथ्याङ्कविना हलुका ढंगले किन यस्ता समाचार प्रकाशन/प्रसारण गर्छन् ?

ट्रक, माइक्रो जस्ता गाडीका पछाडि किन ‘घर बसौं आर्थिक चाप, विदेश जाँउ श्रीमती टाप’ जस्ता सायरी लेखिन्छन् ? सवारी ब्लु बुक र चालकका लाइलेन्स चेक गर्न अनि कारबाही गर्न उत्साहित ट्राफिक प्रहरीहरु किन यस्ता सायरी लेखेर गुडेका सवारी चालकलाई कारबाही गर्दैनन् ?

अथवा यस्तो महिला हिंसा लक्षित सायरी नलेख्न भनी किन चेतावनीसम्म दिँदैनन् ? अहिले त झन गाडीको पछाडि कुनै पनि सायरी नलेख्न भनिएको छ क्यारे ।

नेपालबाट दैनिक बाह्र सयको हाराहारीमा पुरुषहरु वैदेशिक रोजगारीका लागि जाने गर्छन् । ती सबैका श्रीमतीले दोस्रो विवाह गरेका छन् त ? छैनन् भने किन एक्लै घर धानेर बसेका महिलाका बिषय ओझेलामा ?

यहाँ सबै पुरुष दोषी हुन्, महिला असल मात्रै छन् भन्न खोजेको होइन । दुई/चारजना महिलाले गरेका गल्तीलाई लिएर सबै महिलालाई बदनाम गर्न हुँदैन । श्रीमानको प्रतिक्षामा बसेकी महिला दोस्रो विवाह गर्न बाध्य हुनुको कारण नबुझी परिणामलाई मात्रै ध्यान दिन भएन नि ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024