विभिन्न संघसंस्थाका नाममा वैदेशिक रोजगारीमा रहेका श्रमिक उद्धारमा रोक

31 March, 2026

सरकारले विभिन्न संघसंस्थाको नाममा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको उद्धारमा रोक लगाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा गई समस्यामा परेका श्रमिकहरूको उद्धारका नाममा विभिन्न संघसंस्थाले कानुन विपरीत कार्य गरिरहेको भन्दै त्यसलाई रोक लगाएको हो ।

विभागले सूचना जारी गर्दै ‘वैदेशिक रोजगार ऐन २०६४’ ले नेपाली श्रमिक उद्धार गर्नुपर्ने अवस्था आए नेपाल सरकार र सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूले गर्नुपर्ने उल्लेख गरेको छ ।

केही गैरसरकारी संस्था वा व्यक्तिहरूले कानुनमा नभएको अधिकार प्रयोग गरी श्रमिक वा निजका परिवारलाई प्रभावमा पारी उद्धारको भ्रम फैलाउने गरेको भन्दै विभागले उक्त कार्यलाई गैरकानुनी भनेको छ ।

विभागबाट अनुमति प्राप्त नगरी वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि सेवा वा उद्धार कार्य गर्नु वैदेशिक रोजगार सम्बन्धी कानुन उल्लंघन भएको जनाउँदै समस्यामा परेका श्रमिकलाई उद्धार गर्नुपर्ने भए सिधै विभाग वा दूतावासमा सम्पर्क गर्न भनेको छ ।

आधिकारिक प्रक्रिया बाहिरबाट गरिने उद्धारका प्रयासले श्रमिकलाई थप जोखिममा पार्ने र कानुनी जटिलता निम्त्याउन सक्ने विभागले जनाएको छ ।

कानुन विपरीत खडा भएका कुनै पनि संघसंस्था वा व्यक्तिबाट अबदेखि यस्ता कार्य भए प्रचलित कानुन बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

वैदेशिक रोजगार उद्धारका नाममा विभिन्न संघसंस्थाले वैदेशिक रोजगारीमा समस्यामा परेका श्रमिक उद्धार गर्दै आएका छन् । कतिपय व्यक्ति तथा संस्थाले उद्धारका नाममा शुल्क उठाउने तथा चन्दा उठाउने समेत गरेका छन् । सरकारले यस्ता कार्यलाई गैरकानुनी भन्दै त्यस्तो कार्य नगर्न रोक लगाएको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024