विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सनेछैन : प्रधानमन्त्री

16 October, 2025

प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले आज जारी गरकेो समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ ।

‘उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ,’ समवेदनामा भनिएको छ, ‘उहाँको यो वीरतापूर्ण कार्य, उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।’

बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद् मृत्यु पुष्टि हुनेगरी मङ्गलबार आएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै समवेदनामा भनिएको छ, ‘यो हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको छ, म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

समवेदनामा जोशी केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको प्रधानमन्त्री कार्कीले बताएकी छन् । ‘उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो, उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो,’ उनले भनिन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026