विद्यार्थी भिसामा अमेरिका पुगेर मैले जे देखेँ, भोगेँ

30 September, 2026

Aadarsha Bhandari

साढे दुई वर्षअघि म विद्यार्थी भिसामा अमेरिकाको टेक्सस राज्यमा रहेको डालस सहरमा आएँ। त्यतिबेला म एउटा नयाँ आशा, असीम उत्साह र उज्ज्वल सपना बोकेर कलेज पढ्न आएको विद्यार्थी थिएँ।

सुरुसुरुमा यहाँ रहेका अरू नेपाली साथीहरूको जीवन बाहिरबाट हेर्दा एकदमै सामान्य, व्यवस्थित र सुखद लाग्थ्यो। तर समय बित्दै जाँदा, मान्छेहरूसँग घुलमिल बढ्दै जाँदा र नजिकबाट नियाल्दा मात्रै मैले थाहा पाएँ कि अमेरिकामा नेपाली विद्यार्थीहरूको वास्तविक अवस्था नेपालबाट देखेभन्दा धेरै गाह्रो, जटिल र चुनौतीपूर्ण रहेछ।

इन्स्टिच्युट अफ इन्टरनेसनल एडुकेसन (आईआईई) को ओपन डोअर्स रिपोर्ट अनुसार हाल १६ हजार ७४२ भन्दा बढी नेपाली विद्यार्थी अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन्। नेपालको परम्परागत, पुरातनवादी र म्याद गुज्रिएको वर्षान्तमा हुने एउटा परीक्षाकेन्द्रित प्रणालीबाट आएका हामीलाई अमेरिकाको शैक्षिक वातावरणमा भिज्नै धेरै समय लाग्छ।

यहाँ हरेक सेमेस्टरमा निश्चित क्रेडिट पूरा गर्नुपर्ने, नियमित कक्षा जानुपर्ने, समयमै असाइनमेन्ट बुझाउनुपर्ने र निरन्तरको मूल्याङ्कनमा उत्तीर्ण हुनुपर्ने प्रणालीले सुरुका केही दिनमा अनौठो लाग्छ। नेपालमा जस्तो वर्षको एकपटक परीक्षाको समयमा मात्र पढेर यहाँ अङ्क नआउने रहेछ भनेर चाल पाउनै एक–दुई वर्ष लाग्ने रहेछ।

अर्कोतिर, प्रायः विद्यार्थी भिसामा अमेरिका आउनेहरू १८ देखि २३ वर्षका हुन्छन्। नेपालमा परिवार र अभिभावकको कडा निगरानीमा हुर्किएका हामीलाई यो उमेरमा सबै कुरा आफैंलाई थाहा छ भन्ने लागे पनि वास्तविक परिपक्वता विकास भइसकेको हुँदैन।

यहाँ आएपछि एक्कासि असीमित स्वतन्त्रता पाइन्छ। धेरै विद्यार्थीहरू यो स्वतन्त्रताको दुरुपयोग गर्न पुग्छन्। कतिपय साथीहरू व्यक्तिगत समस्या र यो स्वतन्त्रताको दोधारमा अल्झिएर पढाइमा ध्यान दिन सक्दैनन् र अन्ततः भिसा नै रद्द हुने डरलाग्दो परिस्थितिमा पुगेको देखिरहेका छौं।

अर्को मुख्य चुनौती भनेको आर्थिक बोझ हो। अमेरिका आइसकेपछि नेपालमा परिवार र समाजको अस्वाभाविक ठूलो आशा हुन्छ। तर एफ–१ भिसाको कानुनी नियमअनुसार कलेजमा हप्ताको २० घण्टाभन्दा बढी काम गर्न पाइँदैन। एकातिर कलेजको शुल्क, कोठाभाडा र दैनिक खर्च त छँदै छ; अर्कोतिर १८–२३ वर्षकै उमेरमा परिवारको पूरै आर्थिक जिम्मेवारी आफ्नै टाउकोमा पर्दा धेरैले त्यसलाई सम्हाल्न सक्दैनन्। यही आर्थिक र मानसिक चाप सहन नसकेर धेरै विद्यार्थीहरू डिप्रेसन र एन्जाइटीको सिकार पनि भइरहेका छन्।

सबैभन्दा दुःखद कुरा त कक्षाकोठाको दृश्य हो। कलेजको विद्यार्थी सूची वा हाजिरी किताबमा एउटा कक्षामा १० देखि १२ जना नेपालीको नाम सुनिन्छ; तर कक्षामा उपस्थित भने मुस्किलले १-२ जना मात्र भइरहेका हुन्छन्। नियमित कक्षा जानु र एफ-१ भिसा कायम राख्नु एउटा विद्यार्थीको प्राथमिक कर्तव्य हो। तर आर्थिक अवस्था र कामको चक्करले गर्दा धेरै सङ्ख्यामा भर्ना भए पनि कक्षाकोठामा नेपाली विद्यार्थी एकदमै कम देखिन्छन्।

एक दिन म आफू कलेजमा परीक्षा दिन गएको बेला कक्षामा हाजिर गर्दा सधैं अनुपस्थित भनेर सुनिने, कहिल्यै कक्षामा नआउने साथी रमेश थपलिया (नाम परिवर्तन) सँग मेरो कुराकानी भयो। कक्षामा कहिल्यै नदेखिने रमेशलाई मैले सोधेँ- ‘तिमी कक्षामा किन कहिल्यै आउँदैनौ ?’

उसले थकित अनुहार लगाएर ‘हप्तामा ७८ घण्टासम्म काम गर्छु यार ! कक्षामा आउने समय नै मिल्दैन’ भनेर फिस्स हाँस्यो।

विद्यार्थी भिसामा आएर पनि यस्तो किन गरेको त ? भनेर सोध्दा उसले आफ्नो पारिवारिक आर्थिक अवस्था र अमेरिका आउँदा लागेको ऋण सुनाउन थाल्यो। पढ्न आएको विद्यार्थी पढाइभन्दा बढी काममा व्यस्त हुनुपर्ने यो विडम्बना हो। क्याम्पसबाहिर काम पाउनै मुस्किल, पाए पनि गैरकानुनी रूपमा काम गर्नुपर्ने बाध्यता र त्यसैमाथि भिसा रद्द हुने डर र तनावमा यहाँका हजारौं विद्यार्थी पिसिएका छन्।

यस अवस्थामा साथीहरूको सङ्गतले पनि ठूलो असर पारेको मैले देखेको छु। सामाजिक सञ्जालमा देखिने दृश्य, बाहिर निस्कँदा देखिने महँगा सामान र अरूको देखासिखीले भर्खरै आएका नयाँ विद्यार्थीलाई धेरै नै आकर्षित गर्छ। अरूजस्तै बन्न खोज्दा र उनीहरू देखिएसरह जिउन खोज्दा अत्यधिक मानसिक दबाबका कारण धेरै विद्यार्थीहरू कुलतमा फस्ने र अवैध गतिविधिमा संलग्नसमेत हुन पुग्छन्।

यही लापरबाही भनौं वा बाध्यताले गर्दा धेरै साथीहरूले आफ्नै आँखाअगाडि एफ–१ भिसा जोगाउन नसकेर भौंतारिएको मैले देखेको छु।

यसको केही समयपछि मैले संयोगले भेटेको बेला गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीलाई सोधेको थिएँ- ‘विद्यार्थीहरू कति समस्यामा छन् ? किन केही गर्न सकिरहेका छैनौं ?’

उहाँका अनुसार भिसा रद्द भएर सहयोग माग्न आउने नेपाली विद्यार्थीहरूको यस्तो समस्या हरेक दिन दुईदेखि तीनवटासम्म आउने गर्छ।

‘यहाँको कडा कानुनी प्रावधानका कारण हामीले पनि धेरै कुरा गर्न सक्ने अवस्था हुँदैन। हामीले गर्ने भनेको सामान्य काउन्सिलिङ (परामर्श), नेपाल फर्किने भए हवाई टिकट र केही समयका लागि रासनमा सहयोग गर्ने मात्र हो। आफ्नै भाइबहिनीजस्ता विद्यार्थीहरूलाई यस्तो दयनीय अवस्थामा देख्दा हामीलाई पनि एकदमै असहाय महसुस हुन्छ,’ उहाँले भनेको कुरा अचेल मैले पनि प्रत्यक्ष महसुस गरिरहेको हुन्छु।

यहाँको वास्तविक अवस्थालाई नजिकबाट भोगेको र देखेको नाताले अभिभावकले समेत धेरै ध्यान पुर्‍याउनुपर्ने देखेको छु। अभिभावकले अमेरिकामा आफ्नो बच्चाको पढाइ र बसाइको खर्च धान्न नसक्ने अवस्था छ भने उनीहरूलाई पठाएर तपाईंहरूले अन्याय गरिरहनुभएको छ। पठाउनै परे पनि उनीहरूमाथि धेरै आर्थिक भार थोपरिएको कारणले आफूले केही नखाए पनि घरमा आमालाई ‘मज्जाले मासुभात खाएँ’ भनेर ढाँट्दै बाँच्नुपर्ने बाध्यता भएका धेरै छन्।

सामाजिक सञ्जालमा देखेकै भरमा ‘फलानोको छोरा वा छोरीले यस्तो गर्‍यो, उस्तो गर्‍यो’ भन्दै तुलना गरिदिँदा पनि यहाँ आएका विद्यार्थीले सकेसम्म बढी पैसा कमाउनुपर्ने दबाब महसुस गर्छन्। भलै कुनै आमाबुबाको चाहना त्यो नहुन सक्छ; तर अञ्जानमै छोराछोरीले असह्य पीडा भोगिरहेका हुन्छन्।

अहिलेको अवस्थामा अभिभावकले छोराछोरीलाई ‘तिमी अमेरिका गएको हो, पैसैपैसाले बोरा भर्नका लागि होइन’ भनी सम्झाउनुपर्ने देखिन्छ।

उक्त कुरा सुनिश्चित गर्नका लागि अमेरिका पठाउनुअघि कलेजको शुल्क, बस्ने–खाने खर्च कति लाग्छ ? सबै कुरा राम्रोसँग बुझेर मात्र निर्णय लिनुपर्छ। उमेरले बालिग भइसकेका (१८ वर्ष कटिसकेका) छोराछोरीलाई धेरै दबाब वा नियन्त्रणमा राख्ने प्रयास गरेमा उनीहरूको मानसिक स्वास्थ्य बिग्रिनुका साथै अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने र सम्हाल्नै नसकिने खतरा हुन्छ।

र, अन्त्यमा सबै अभिभावकले गर्नैपर्ने कुरा- परदेशमा रहेका आफ्ना सन्तानसँग साथीजस्तै बनेर उनीहरूको दैनिकीबारे कुराकानी गर्ने, सुन्ने र सुनाउने गरिदिनुस्। किनकि यो देशमा सबै थोक भएर पनि हामीलाई एउटा सच्चा साथी जहिल्यै चाहिएको हुन्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026