गीता अधिकारी
नेपाली कला र संगीत क्षेत्र जति व्यापक र विस्तृत छ यस क्षेत्रमा आउने र भविष्य खोज्नेहरूको संख्या पनि त्यत्तिकै छ। कला साहित्य देशको पहिचान पनि हो। कलाकारलाई राष्ट्रको सम्पति र परिवर्तनको संवाहक शक्ति तथा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरण तथा परिवर्तनको शक्ति पनि मानिन्छ।
यस क्षेत्रमा लागेर चर्चा यसको अर्को पक्ष हो। जो कोही चाहेर पनि राम्रो कलाकार, गीतकार, संगीतकार, साहित्यकार हुन सक्दैन। यसका लागि साधनाका साथसाथै प्राकृतिक रूपमा नै त्यस क्षेत्रको प्रभाव पर्नु पर्छ अर्थात कसैले यसलाई गड गिफ्ट पनि भन्ने गर्छन्। गड गिफ्ट भएर मात्रै पनि भएन कडा मेहनत, परिश्रम, सम्बन्धित विषयको ज्ञान र साधना पनि त्यत्तिकै आवश्यक हुन्छ कुनै पनि क्षेत्रमा सफल व्यक्ति बन्नका लागि।
यस क्षेत्रको सुरुका दिनमा यसलाई सोख वा मनोरञ्जनको विषय मात्र बनाइएको भए पनि अहिले यो क्षेत्र व्यवसायिक बन्दै गएको छ। धेरैको रोजगारीको क्षेत्र पनि बनेको छ। नाम, दामसँगै चर्चा कमाइने भएकाले धेरैको आकर्षणको क्षेत्र पनि भएको छ। नाम र चर्चाले मात्र पनि नहुँदोरहेछ यदी त्यो व्यवसायिक भएन भने। देशमा रोजगारको सम्भावना कम छ। दिनानुदिन जनसंख्याको वृद्धिसँगै गरिबीको पीडा थाम्न नसकी वा मूलत: आर्थिक रूपमा उचो हुन नसक्दा देशका गहनाको उपमा पाएका होनाहार कलाकारलाई विदेशको मोहले तानेको छ।
त्यसो त देशमा रोजगारीको अवसर नभएपछि हाम्रा युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्। जसले गर्दा हाम्रा गाउँसहर युवाविहीन छ। गाउँघरमा खेतीकिसानी गर्ने बलिया मानिस सबै विदेश वा सहरतिर हुने भएकाले काम गर्न नसक्नेहरू घरमा हुँदा खेतीयोग्य जमिन बाँझै छन् भने एकाद मात्रामा महिला आफैंले खेत जोतेर गुजारा चलाएका छन्।
देशको बहुआयामिक शक्ति पलायन हुनु भनेको दु:खद् हो। देशमा रोजगारी र उत्पादनका क्षेत्र विस्तार नहुँदा कामका लागि दैनिक एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर जान्छन्। उनीहरूको आँखाका आँशुमा परिवारको अनुहार झल्कन्छ। पढाइको नाममा, विभिन्न स्टेज प्रोग्राम लिएर अथवा अन्य सिलसिलामा विदेश पलायन भएकाहरूको प्रथामिकता पनि विदेशमा वैधअवैध रूपमा काम गर्नु र उतै बस्नु रहेको छ। देशको समग्र विकासमा लाग्नुपर्ने शक्ति गुमाएर मुलुकले ठोस र दीर्घकालीन लाभ हासिल गर्न सक्दैन।
विभिन्न सिलसिलामा विदेशी भूमि टेकेका अधिकांश मानिस किन नेपाल फर्कन चाहँदैनन्? विकसित मुलुकमा स्वतन्त्र समाज, कसैले कसैको मतलब नराख्ने, नेपाली मेहनती, मिलनसार र इमान्दार भएकाले कामका लागि सबैले रुचाउने गरेको विदेशमा धेरै वर्ष बसोवास गरेर आएको बताउँछन्। अपवादलाई छाडेर अधिकांश मानिस नेपाल फर्कन नचाहेको देखिन्छ। विकसित मुलुकमा रहने नेपालीलाई त्यहाँको रहनसहन र प्रविधिले समेतले लोभ्याउने गर्छ।
नेपालबाट पलायन भएकाहरूले युरोप, अमेरिका र अस्ट्रेलियालगायत तथा तेस्रो विश्वमा पुर्याएको योगदान र कलाकौशल, व्यापार, विज्ञान र कारोबारमा नेपाली युवाले त्यहाँको रैथानेले भन्दा कुशलता देखाएका समाचार सुन्न पाइन्छ। विदेसिएकाहरूलाई नेपाल फर्काएर रोजगारीको ग्यारेन्टी र काम गरिखाने वातावरण बनाइदिने हो भने देश विकासमा टेवा पुग्थ्यो कि?
नेपाली श्रम र सीपले युरोप, अस्ट्रेलिया र अमेरिकी देश बढी मात्रामा लाभान्वित भइरहेका छन् भने तिनीहरूको त्यही श्रम र सीप नेपालमा खर्च गराउने सोच नआउनु, नेपाली राजनीति गर्ने नेताले उचित वातावरण मिलाउन नसक्नु दु:खको कुरा हो। आफूमा दक्षता हुँदाहुँदै पनि आर्थिक अभावका कारण बाध्य भएको भन्छन् विदेसिएकाहरू। यसरी विदेसिएकाहरूलाई नेपाल फर्काएर रोजगारीको ग्यारेन्टी र काम गरिखाने वातावरण बनाइदिने हो भने देश विकासमा टेवा पुग्थ्यो कि?