विदेश छोडेर गाउँमै आरन व्यवसाय

9 December, 2022

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर २३ गते। बूढीगङ्गा नगरपालिका–४ का पदम लुहारले गाउँमै आरन व्यवसाय सुरु गर्नुभएको छ। रोजगारीका लागि भारतमा बस्दै आउनुभएका पदम लुहारले भारतमा आफूले गर्न सक्ने काम नमिलेको र मिले पनि काम अनुसारको तलब नपाएपछि गाउँ फर्केर आरन व्यवसाय सुरु गर्नुभएको हो।

बूढीगङ्गा नगरपालिका–४ निवासी पदम लुहार अहिले बजारमा बसेर घरेलु हतियार बनाउनुहुन्छ। विशेषगरी उहाँले कृर्षि औजार बनाएर राम्रो आम्दानी गर्नुभएको छ।

उहाँले लामो समयसम्म भारतमा काम गरेर घरखर्च धान्न मुस्किल भएपछि आफैँ आरन व्यवसाय सुरु गर्नुभएको हो।

‘दुई छोरी र एक छोरा गाउँ नजिकैको भानोदय माविमा पढ्छन्। एक छोरा काठमाडौं पढ्छ। घरपरिवार यत्तिबेला सुखका साथ रमाइरहेको छ’, उहाँले भन्नुभयो।

पुर्खाले गर्दै आएको यो व्यवसायबाट नयाँ पुस्ताले लाभ लिनुपर्ने उहाँको भनाइ छ। पुर्खाको व्यवसायबाट आम्दानी हुन्छ भन्ने कुरा थाहा नपाउँदा अहिले बिस्तारै लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो।

अहिले अधिकांश विद्युतको प्रयोगबाट नै कृर्षि औजार बनाइन्छ। यसका लागि फलाम काट्ने, पिट्ने र वल्डिङ गर्ने राम्रो मेसिन नहुँदा समस्या भएको उहाँको अनुभव छ। ‘यो मेसिन खर्चिलो हुन्छ, आफूले यो किन्न सकिँदैन। मेसिन किन्नका लागि मैले स्थानीय सरकारसँग माग राखेँ तर सुनुवाइ भएन’, उहाँले गुनासो गर्नुभयो।

आधुनिक आरन व्यवसाय सञ्चालन गर्न सीप सिकाइका लागि तालिमको व्यवस्था गरिदिए थप सहज हुने लुहारको भनाइ छ। यता गाउँमै केही गरी खानेका लागि स्थानीय सरकारले विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024