विदेशले ‘समय खोसेपछि’ फर्किए श्रीमान–श्रीमती, २५ हजारको व्यवसाय बनाए ४० लाखको

30 July, 2026

Nirmala Ghimire

उनीहरूको घरको आर्थिक अवस्था निकै कमजोर थियो। गाउँमा काम पनि थिएन। काम नभएपछि परिवार चलाउन गाह्रो थियो।

यही अवस्थाका कारण झापाका युवराज तामाङ सन् २००२ मा रोजगारीको खोजीमा मलेसिया पुगे।

२०१२ मा उनले श्रीमती मनिका राईलाई पनि मलेसिया लगे।

‘बिहेपछि म एक्लै काम गरिरहेको थिएँ। अझै आर्थिक अवस्था कमजोर नै थियो। दुवै जनाले कमाए जीवन चलाउन अझ सजिलो हुन्छ भन्ने लागेर श्रीमतीलाई पनि उतै बोलाएँ,’ उनले भने।

युवराजले काम गरिरहेको कम्पनी नजिकै अर्को कम्पनीमा कामको राम्रो अवसर खुलेको थाहा पाएपछि मनिका गएकी थिइन्।

मलेसियाको जोहोर बारूस्थित चिनियाँ लगानीको टोमी प्याक कम्पनीमा कार्यरत थिए युवराज। उक्त कम्पनीमा चाउचाउ, बिस्कुट लगायत खाद्य सामग्री प्याकेजिङका लागि प्रयोग हुने प्लास्टिक उत्पादन हुन्थ्यो।

उनको सुरूआती तलब आठ घन्टा कामका लागि ४८० मलेसियन रिंगेट थियो। कम्पनीले हरेक वर्ष ५० रिंगेट तलब बढाउँथ्यो। कामको मूल्यांकनका आधारमा थप १०० रिंगेटसम्म वृद्धि गर्ने व्यवस्था थियो।

राम्रो काम गरेबापत युवराजको तलब पनि १०० रिंगेट बढेको थियो।

सार्वजनिक बिदाका दिन ओभरटाइम गर्दा मासिक आम्दानी क्रमशः बढ्दै २२ सय रिंगेटसम्म पुग्यो। उनले त्यही कम्पनीमा सन् २०१६ सम्म गरी करिब १४ वर्ष काम गरे।

उता मनिका मोबाइल, रिमोट लगायतका विद्युतीय सामग्रीका पाटपुर्जा उत्पादन गर्ने कम्पनीमा कार्यरत थिइन्।

उनको आधारभूत तलब १२ सय रिंगेट थियो। ओभरटाइम गरेपछि दुई हजार रिंगेटसम्म पुग्थ्यो। उनले त्यहाँ चार वर्ष काम गरिन्।

श्रीमान–श्रीमतीको कम्पनी पैदल पाँच मिनेटको दुरीमा थियो। तर नजिकै भएर पनि टाढा जस्तो। राम्ररी भेट हुन हप्तौं कुर्नुपर्थ्यो।

‘नजिकै दुरीमा भए पनि यहाँको नियम मान्नुपर्‍यो। काम पनि गर्नुपर्‍यो। मेरो बिदा हुँदा उनको हुँदैन थियो। उनको बिदा हुँदा मेरो हुँदैन थियो। परदेशको ठाउँ आफ्नो देशजस्तो नहुने,’ युवराजले सुनाए।

यस्तै यस्तै कारणले उनीहरूलाई धेरै समय मलेसिया बसिरहन मन लागेन। देशमै फर्केर केही गर्ने योजना बुन्न थाले। अनि २०१६ मा दुवै जना फर्किए।

त्यहाँको कमाइ ल्याएर सुरूमा उनीहरूले झापामा १० कट्ठा जग्गा जोडे। घर बनाए। बाँकी पुँजी उत्पादनमूलक क्षेत्रमा लगाए।

उनीहरूले सुरूमा परीक्षणका रूपमा दुई वटा बंगुर किनेर व्यवसाय थाले। करिब २५ हजार रूपैयाँ लगानीमा थालेको सो व्यवसाय अहिले ४० लाख रूपैयाँ हाहाहाराी लगानीमा विस्तार भइसकेको युवराजले बताए।

‘बंगुर पाल्न चाहिने संरचनामा ठूलो लगानी भएको छ। अहिले हामीसँग २५–२६ वटा माउ बंगुर छन्,’ उनले भने।

सुरूमा सेतो हाइब्रिड बंगुर पाले पनि पछि त्यसबाट अपेक्षित लाभ नदेखेपछि उनीहरूले स्थानीय धराने कालो बंगुर पालनमा ध्यान दिए।

‘सेतो बंगुरलाई महँगो रेडिमेड दाना चाहिन्छ, बिक्री गर्न पनि गाह्रो हुन्छ। अहिले कालो बंगुर पालिरहेका छौं। स्थानीय कच्चा पदार्थ—लट्टे कर्कलो, धानको भुस, मकैजस्ता सामग्रीले पाल्न सकिन्छ। उत्पादन भएपछि घरबाटै बिक्री हुन्छ,’ उनी भन्छन्।

युवराजका अनुसार मलेसियामा १२ महिना, ३० दिनजस्तै दिनको १२ घन्टा काम गर्नुपर्थ्यो। बिरामी हुँदा पनि सजिलै बिदा पाइँदैन थियो। अहिले आफ्नै व्यवसाय भएकाले समय आफ्नै नियन्त्रणमा छ।

‘मलेसियाजस्तो कमाइ त छैन। तर सन्तुष्ट छु। परिवारसँग बस्न पाइन्छ। आफ्नै देशमा मेहनत गर्दा मनको शान्ति छ,’ उनले भने।

आगामी दिनमा व्यवसाय अझ विस्तार गर्दै गाउँमै केही युवालाई रोजगारी दिने योजना रहेको युवराज बताउँछन्। तर त्यसका लागि सरकारले उद्यमीलाई थप सहयोग गर्नुपर्ने उनको भनाइ छ।

बिना धितो सहुलियत ऋण, सस्तो ब्याज, बंगुरको दाना काट्ने मेसिनमा अनुदान पाए लागत घट्ने थियो। बजार व्यवस्थापन र बीमामा सरकारले सहयोग गरिदिए आफूजस्ता किसानलाई ठूलो राहत मिल्ने उनी बताउँछन्।

विदेशमा कमाएको पैसा गाउँमै लगानी गरेर आत्मनिर्भर बनेका युवराज र मनिकाको अनुभवमा विदेशले पैसा दिन सक्छ, तर परिवारसँग बिताउने समय खोस्छ।

‘आफ्नै देशमा दुःख गरौं, परिवारसँगै बसौं। विदेशमा पैसा कमाइएला, तर परिवारसँग भेटघाटको सन्तुष्टि पाइँदैन। आफ्नै देशमा पनि मेहनत गर्‍यो भने राम्रो गर्न सकिन्छ,’ उनीहरू भन्छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024