विदेशमा रहेका नेपालीलाई मताधिकारबारे परामर्श

7 October, 2026

Birendra Oli

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनेबारे परामर्श थालेको छ । आगामी प्रदेश र स्थानीय तहको निर्वाचनलक्षित आयोगले अस्थायी रूपमा विदेशमा बसोबास गरेका नेपालीलाई मतदानमा सहभागी गराउनेबारे सरोकारवालासँग छलफल थालेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रायः सबै दल विदेशमा बसोबास गर्ने नेपालीलाई मतदानमा सहभागी गराउन सकारात्मक भएकाले आयोग निरन्तर छलफलमा जुटेको हो ।

सङ्घदेखि प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २४ वटा राजनीतिक दललाई आमन्त्रण गरेर केही दिनअघि यो विषयमा छलफल गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । नेपालको संविधानले नेपाली नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगानाभन्दा बाहिर अस्थायी रूपमा बसेका र विदेशमा बसोबास गरेका सबैलाई मतदानको अधिकार दिनेबारे राजनीतिक दलसँग सकारात्मक छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउँदा प्रविधिको प्रयोग गर्नुपर्ने भएकाले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी अध्ययन गरेर मात्र गर्नुपर्ने दलबाट सुझाव आएको बताउनुभयो । यसैबिच आयोगले गत असोज ५ गते नेपाली राजदूतावाससहित नेपाली कूटनीतिक नियोगसँग यस विषयमा छलफल गरेको थियो ।

नेपालीको सङ्ख्या, मतदाता नामावली सङ्‍कलनको तरिका र सम्भावित मतदान विधि, मतदाता नामावली सङ्‍कलन र निर्वाचन सञ्‍चालन गर्न सम्बन्धित कूटनीतिक नियोगको भूमिकालगायतका विषयमा छलफल भएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “विदेशमा बसोबास गरेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउन कस्तो कानुन बनाउने ? कसरी अगाडि बढाउने भन्नेबारे छलफल जारी छ । के कसरी मतदानमा सहभागी गराउने टुङ्गो लागेको छैन । छलफलकै क्रममा भएकाले ठ्याक्कै सेयर गर्ने पोजिसनमा पुगेका छैनौँ ।” तर, विदेशमा बसोबास गर्ने नेपालीले मतदानमा सहभागी हुन नेपाली नागरिकता र राहदानी अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहेको उहाँले बताउनुभयो । रास्वपाका केन्द्रीय सदस्य एवं सांसद गणेश कार्कीले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनु पर्छ भन्नेमा पार्टी स्पष्ट रहेको बताउनुभयो । “निर्वाचनको निष्पक्षताका विषयमा कुन साधन ? कुन प्रविधि प्रयोग गरेर विश्वसनीयता कायम गर्ने भन्ने हो ? आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिनु पर्छ भन्ने छ । प्राविधिक रूपमा कुनै समस्या नआउने गरी विश्वासिलो रूपमा मतदानको व्यवस्था गर्नु पर्छ,” उहाँले भन्नुभयो ।

कानुनविद् चन्द्रकान्त ज्ञवालीले नेपालमा जन्मेर विविध कारणले विदेशमा बसोबास गर्ने नेपालीले मताधिकार पाउने कानुनी अधिकार भएको बताउनुभयो । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउनु राज्यको कर्तव्यसमेत भएको उहाँले प्रस्ट पार्नुभयो । “विदेशमा रहेका नेपालीलाई ‘राइट टु भोट’ हुन्छ । मताधिकार सार्वभौम अधिकार हो । नेपालमा जन्मेपछि जहाँ गएर बसे पनि मतदाधिकार पाउँछन् । नेपालमा अवसर नपाएर विदेश जाने हो । नभए स्वदेशमै हुन्थे,” उहाँले भन्नुभयो, “राज्यले भोट हाल्ने व्यवस्था नगरेकाले नहालेका हुन् । भोट हाल्ने व्यवस्था इमेलबाट गर्ने कि अन्य कुनै प्रविधिको प्रयोग गरेर गर्ने कि, दूतावास गएर मत हाल्ने त्यो राज्यले व्यवस्था गर्ने कुरा हो ।”

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026