विदेशमा एमबिबीएस पढ्न नेपालको प्रवेश परीक्षा पास गर्नैपर्ने

20 July, 2011

विदेशमा एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीले अब नेपालका विश्वविद्यालय वा शिक्षामन्त्रालयले लिएको प्रवेश परीक्षा अनिवार्य पास गर्नुपर्ने भएको छ। निजी खर्चमा विदेशबाट एमबिबिएस गरेर फर्केका अधिकांश विद्यार्थी नेपाल मेडिकल काउन्सिलले लिने ‘लाइसेन्सिङ’ (अभ्यास अनुमति पत्र) परीक्षामा अत्यधिक फेल हुन थालेपछि सरकारले यो नियम लागू गरेको हो।

काउन्सिलले लिने परीक्षामा फेल भएकामध्ये ९५ प्रतिशत विदेशमा एमबिबिएस पढेर आएका छन्।

विदेश पढेर आएकामध्ये ८० प्रतिशत डाक्टर काउन्सिलको लाइसेन्सिङ परीक्षामा एकभन्दा बढी पटक फेल भएका छन्। काउन्सिलले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार ७ सयभन्दा बढी विद्यार्थी मेडिसिन अध्ययनका लागि विदेश जान्छन्।

काउन्सिलका अनुसार पछिल्लोपटक सरकारले विदेशमा मेडिसिन पढ्न जान चाहने विद्यार्थीहरुका लागि ‘प्लस टु’ विज्ञानमा कम्तीमा ५० प्रतिशत ल्याए हुने प्रावधान बनाएको छ। त्यस्ता विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले योग्य भएको प्रमाणपत्र र त्यसैका आधारमा शिक्षा मन्त्रालयले ‘नो अब्जेक्सन’ पत्र दिँदै आएको छ।

मेडिकल कलेजबारे अध्ययन गर्न गत वर्ष गठित समितिलाई नेपाल मेडिकल काउन्सिलले दिएको सुझावको आधारमा मन्त्रिपरिषद्ले विदेशमा पढ्न जान चाहने विद्यार्थीले नेपालमा प्रवेश परीक्षा पास गर्नैपर्ने नियम पारित गर्ने तयारी गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।

नयाँ नियम लागू भएपछि विदेश पढ्न जान त्रिभुवन वा काठमाडौ विश्वविद्यालय, शिक्षा मन्त्रालयले लिएको एमबिबिएस प्रवेश परीक्षा पास हुनैपर्छ। अहिले त्रिवि, केयु, बिपी स्वास्थ्य विज्ञान धरान र पाटन अस्पतालमा एमबिबिएस अध्ययन गर्न सम्बन्धित कलेजकै प्रवेश परीक्षा पास गर्नुपर्छ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले विदेशमा पढेर आउने डाक्टरहरू अझै दक्ष हुन् भन्न यस्तो

व्यवस्था गर्न लागेको बताए। उनले भने, ‘यसअघिका प्रावधानले गुणस्तरको न्यूनतम मापदण्ड कायम गर्न सकेन, काउन्सिलको लाइसेन्सिङ परीक्षाको परिणामले पनि यसको पुष्टि गरेको छ।’

गत चैतमा काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा १ हजार ३६ जना सहभागीमध्ये ४ सय १४ फेल भएका थिए, जसमध्ये ३ सय ९५ विदेश पढेका तथा १९ जना मात्र नेपालका मेडिकल कलेज पढेका थिए। बाहिरबाट पढेर आएका चिकित्सकको गुणस्तर मापन गर्ने एक मात्र आधार लाइसेन्सिङ परीक्षा हो।

चिकित्साशास्त्रको पाठ्यक्रममा ७० प्रतिशत सैद्धान्तिक ज्ञान विश्वभर एउटै भए पनि ३० प्रतिशत चाहिँ देशअनुसार फरक-फरक हुन्छ। विदेशमा पढेर आएका नेपाली विद्यार्थीले यहाँको स्वास्थ्य अवस्था, आर्थिक, समाजिक र वातावरणीय पक्षबारे जानकारी नराख्ने हुनाले बढी फेल हुने गरेको काउन्सिल अधिकारीहरूको भनाइ छ।

काउन्सिलका पूर्व अध्यक्ष डा. सोमनाथ अर्यालले पछिल्ला दिनमा नेपालका मेडिकल कलेजको तुलनामा विदेशमा पढेर आएका डाक्टर निकै कमजोर देखिएकाले गुणस्तर ध्यान दिनुपर्ने अवस्था आएको बताए। उनले भने, ‘विदेशमा भाषाका कारण बिरामीसँग दोहोरो संवाद हुन नपाउने भएकाले विद्यार्थी प्रयोगात्मक सिकाइबाट वञ्चित हुने गरेका छन्।’ विदेशको भाषा सिकी त्यहीँका मानिससँग घुलमिल गरेर अध्ययन गरेका विदेशी चिकित्सक भने दक्ष रहेका जानकारहरुको भनाइ छ।

पछिल्लो समयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी छात्रवृत्ति वा शुल्क तिरेर नेपालमै पढ्ने गरेका छन्। नेपालमा एमबिबीएस पढ्न नपाएका विद्यार्थी शुल्क तिरेर एमबिबीएस अध्ययनका लागि चीन, बंगलादेश, भारतलगायत मुलुक जाने गरेका छन्।

तीन वर्षअघि काउन्सिलले विदेशमा मेडिकल पढ्न जाने विद्यार्थीका लागि योग्यता प्रमाणपत्र दिने नियम बनाएको थियो। नेपालमा अहिले एमबिबिएसको १ हजार ८ सय ६६ तथा बिडिएसको करिब २ सय सिट छ। ३ सय १८ जना नेपाली विद्यार्थीले एमबिबिएसमा छात्रवृत्ति पाउँछन्।

२०६७ चैतमा भएको लाइसेन्सिङ परीक्षाको नतिजा

देश सहभागी विद्यार्थी उत्तीर्ण अनुत्तीर्ण

अर्मेनिया १० ७ ३

बंगलादेश १५ ७ ८

बेलारुस २ १ १

चीन ५९१ २५२ ३३९

भारत १४ १२ २

कजाकिस्तान १ १ ०

किग्रिज रिपब्लिक ६ २ ४

मोल्डोभान २ ० २

पाकिस्तान १२ १० २

फिलिपिन्स ८ ३ ५

रसिया २७ १२ १५

स्रोतः नेपाल मेडिकल काउन्सिल

By दीपक दाहाल

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024