विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्न ६७ वटा चार्टर उडानलाई अनुमति

11 June, 2020

सुरज कुँवर

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी असार ११ सम्म ६७ वटा चार्टर उडानलाई अनुमति दिएको छ ।

मन्त्रालयले नेपाल वायुसेवा निगमलाई २४ वटा, हिमालय एयरलायन्सलाई १९ वटा र विदेशी वायुसेवा कम्पनीलाई २४ वटा गरी ६७ वटा चार्टर उडानको अनुमति दिएको छ ।

नेपालीलाई उद्धार गरिने मुलुकहरुमा दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, मलेसिया, पाकिस्तान, कुवेत, साउदी अरब, बहराइन, दुबई, कतार, इजरायल, मस्कट, साइप्रस, संयुक्त राज्य अमेरिका, नाइजेरिया, युगान्डा तथा युरोप छन् ।

पर्यटन सचिव केदारबहादुर अधिकारीका अनुसार यी चार्टर उडानमा विदेशमा अलपत्र परेका पहिलो प्राथमिकतामा परेकालाई उद्धार गरिनेछ । यो पहिलो चरणको चार्टर उडान हो ।

यसैबीच मन्त्रालयले चार्टर उडानको भाडा पनि तय गरेको छ । वायुसेवा कम्पनीले मन्त्रालयले स्वीकृत गरेको भाडा दरभन्दा बढी लिन पाउने छैनन् । मन्त्रालयले स्वीकृत गरेको भाडामा सबै कर समावेश गरिएका छन् । विदेशी एयरलायन्सले नेपाली दूतावाससँग समन्वय गर्नुपर्ने छ । यी सबैले नेपाल सरकारसँग चार्टर अनुमति लिनै पर्नेछ ।

विदेशबाट नेपाल फर्किने नेपालीले पीसीआर वा आरडीटी परीक्षण गरेको हुनुपर्ने छ ।

नेपाल आइसकेपछि सरकारले हालै बनाएको क्वारेन्टाइन मापदण्ड अनिवार्य रुपमा पालना गर्नुुपर्ने छ । चार्टर उडानमा कतिपय श्रम मुलुकमा रहेका नेपालीलाई त्यहाँको सरकार तथा कम्पनीले आफ्नो खर्चमा पठाउँदैछन् भने अधिकाशंले टिकट खर्च आफै बेहोर्नुपर्ने छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024