विदेशबाट फर्केर उखुको जुस बेच्दै पञ्चलाल साह, मासिक ४० हजार आम्दानी  

29 November, 2024

मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आइरहेका छन् । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आभएका उनी आम्दानी गर्न विदेश जानु नपर्ने बताउँछन् ।

‘हामीले कुरा नबुझी भौतारिन्छौं, काम गर्न सके स्वदेशमा आन्दानीका प्रशस्त स्रोत छन्,’ उखुको रस बेच्दै साहले भने, ‘आफ्नै ठाउँमा परिवारको साथमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन् ।’

पछिल्ला तीन वर्षदेखि बर्दिबासलाई आफ्नो बजार बनाउँदै आएका साहले उखुको रस बेचेको कमाइले परिवारको गुजारा चलाउनुका साथै यसअघि विदेश जाँदाको चार लाख रुपैयाँ ऋण पनि तिरिसकेको बताए  ।

‘महिनामा ४० हजार रुपैयाँ कमाइ हुन्छ, किन जानु खाडी ?,’  उनले प्रश्न गरे, ‘मैले अहिले विदेश जाने कुरा सोच्नै छाडें ।’

यसअघि गरिबीले थिचेर जीविकोपार्जनका लागि कतार र सउदीअरेबियामा पाँच वर्ष बिताउँदा ऋणको भार लिएर फर्केको साहको अनुभव छ ।

‘घरको दुःख टार्न भनेर ऋण गरेर गएँ, दलालको चक्कर रहेछ, भनेको काम नपाएर ऋण बोकेर रुँदै घर फर्केँ,’ उनले भने, ‘स्वदेश फर्केर दुई लाख रुपैयाँमा उखु पेल्ने मोटर किनेर काम थालें, अहिले परिवारको खर्च गर्न कुनै दुःख छैन ।’

यहाँको कामले पुरानो ऋण तिरेर घरगुजारा चलाउँदै छरछिमेकमा पर्दा दुई/चार सय सरसापट चलाउनसक्ने भएको साहले बताए । ‘मेरो छ जनाको परिवारलाई दैनिकी चलाउन, छोराछोरी पढाउन अहिले कुनै समस्या छैन,’ उनले भने । साहले दुई छोराछोरीलाई बर्दिबासमा राखेर पढाइ रहेका छन् ।

साहजस्तै ईश्वरपुर नगरपालिकाको श्रीनगरका २० वर्षीय विक्कीकुमार साहले पनि उखुको जुस बेच्ने काम गर्दै आएका छन् । खोजखाज गरेर राहदानी बनाएका विक्कीले विदेश जाने ऋण नपाएपछि सानो पूँजीले दुई वर्षअघि उखु पेलेर जुस बेच्न थालेको बताए । अहिले यसबाट कमाइ हुन थालेपछि छुटेको पढाइलाई निरन्तरता दिनुका साथै घर खर्चमा सहयोग गर्न थालेको उनले बताए ।

‘दैनिक एक हजार रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ, अहिले १२ कक्षाको पढाइलाई निरन्तरता दिन थालेको छु । अब ऋण काढेर विदेश जाने सोच छैन,’ विक्कीले भने ।

बर्दिबासचोकमा मात्रै यही पेसा गरिरहेका छ/सात जना भेटिन्छन् । सबैजसोले दैनिक काम गर्दा मनग्ये आम्दानी भइरहेको प्रतिक्रिया दिने गरेका छन् ।

महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चापदार्थ (उखु) खोज्न भौतारिनु नपर्ने र रस नगदमा जाने हुँदा उधारो करोबार नहुने विक्कीको भनाइ छ ।

मोटर गुडाउँदै उखु पेलेर रस बेच्ने काम गरिरहेकाहरूसँग किसान पनि खुसी छन् । यिनीहरूले चिनीमिलको भन्दा केही बढी मूल्यमा तत्कालै नगद दिएर उखु लाने हुँदा दैनिक गर्जो टार्न नगद आइरहेको बर्दिबास–२ का किसान क्षेत्रबहादुर भुजेलले बताए ।

बजारचोकमा उखुको जुस खाने बाक्लै आगन्तुक हुन्छन् । आफ्नै आँखा अगाडि पेलेर ताजा जुस दिने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । ‘पसलमा राखिएका विभिन्न थरिका जुसभन्दा यो स्वस्थ्यकर र तत्काल ऊर्जा दिने हुन्छ,’ स्थानीय स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भने ।

स्वदेशमा अवसर खोज्ने हो भने विदेश जानुपर्ने बाध्यता अन्त्य हुने झाको भनाइ छ । साना व्यावसायिलाई स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उनले जोड दिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024