जिल्लाका केही स्थानीय तहले विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउन सुरु गरेका छन् । उनीहरूलाई पहिलोपटक उद्यमशीलता तालिम प्रदान गर्न थालिएको हो । जिल्लाको तातोपानी र सिंजा गाउँपालिकाले वैदेशिक रोजगारीमा लामो समय बिताएका युवाहरूको अनुभव र सीपलाई स्वदेशमा लागू गर्न उद्यमशीलता तालिम दिन थालेका हुन् ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, ‘केही युवाहरूले लामो समय विदेशमै बिताए । उनीहरूले सिकेको सीप स्वदेशमै प्रयोग गर्न उद्यमशील बनाउन खोजिएको छ । यसले उनीहरूलाई गाउँमै रोजगार बन्ने अवसर प्रदान गर्नेछ ।’
पहिलो चरणमा सिंजाले २० र तातोपानीले २० जना युवालाई उद्यमशील बनाउन लागेका हुन् । स्थानीय उत्पादनमा आधारित साना उद्योग तथा व्यवसाय संचालन गरी आय आर्जन वृद्धि गर्न उनीहरूलाई परिचालन गर्न लागिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । उनले भने, ‘युवाजति बेरोजगार छन् भन्ने भाष्य छ । अब विदेशको सीप स्वदेशमा प्रयोग गरेर युवा उद्यमी बनाउने अभियान सुरु भएको छ ।’ दुवै स्थानीय तहले ७ दिनभित्र पालिकामा सम्पर्कमा आइसक्नुपर्ने जनाएका छन् ।
‘विदेशबाट फर्किएकाहरूको सीप र अनुभव खेर जान दिदैनौं,’ तातोपानीका अध्यक्ष चौलागाईंले भने, ‘अब गाउँमै रोजगारी सिर्जना गरेर फेरि पनि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्ने योजना छ ।’ वैदेशिक रोजगारीको अनुभव स्थानीय स्तरमा लागू गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना पनि रहेको उनले सुनाए । अनुभव नभएर पनि केही गर्न नसकेका युवाको हौसला बन्दै उद्यमशीलतामा आकर्षित गर्न तालिमको व्यवस्था गरिएको उनले बताए । जसका लागि सरकारी तथा गैरसरकारी निकायसँग लागत साझेदारीको लागि समन्वय भइरहेको छ । नवीनतम ज्ञान र सीपमा आधारित व्यवसाय स्थापना र संचालनका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई अनुदान र सहुलियत ब्याजदरमा उद्यमी कर्जा प्रवाह गर्ने नीति पनि स्थानीय तहले लिएका छन् ।
उद्यमशीलता तालिममा सहभागी हुने युवाले आवेदन फारम, नेपाली नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगारीबाट फर्किएको प्रमाणस्वरूप पासपोर्ट, भिसा र श्रम स्वीकृति आदि मध्ये कुनै एकको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो लगायतका कागजात पेस गर्नुपर्ने छ । छनोट भएका युवालाई पालिका र संघसंस्थासँग समन्वय गरी बिनाब्याज ऋणसमेत उपलब्ध गराइनेछ । पालिकाको अन्य विकास निर्माण तथा रोजगार प्रवर्द्धनका कार्यक्रममा तालिम लिएका युवालाई प्रथामिकता दिइने समेत जनाइएको छ ।