लेबनान जान लागेका युवती नेपालगन्ज विमानमा

24 October, 2011

प्रतिमा बाँस्कोटा

काठमाडौंबाट नेपालगन्ज उडान भर्न लागेको बुद्ध एयरमा शनिबार लेबनान जान लागेका ४ युवती भेटिए । आन्तरिक उडानको सुरक्षा जाँच हुने स्थानमा पुगेका उनीहरूलाई प्रहरीले सोध्दा लेबनान जान लागेको बताए।

प्रहरी अचम्ममा पर्‍यो । नेपालगन्ज जाने विमानमा चढेर लेबनान कसरी जाने ? शंका लागेर सोधपुछ गर्न थालेको प्रहरीले बल्ल चाल पायो । ती युवतीलाई त २ दलालले नेपालगन्जबाट लखनऊ हुँदै लेबनान लैजान लागेका रहेका रहेछन्। श्रम स्वीकृति नभएकालाई विदेश लैजान प्रहरीले विमानस्थलमा कडाइ गरेपछि दलालले ती युवतीलाई नेपालगन्जबाट लखनऊ, दुवई हुँदै लेबनान लैजाने तयारी गरेका रहेछन्। प्रहरीले त्यसमा संलग्न गोर्खाका सानु तामाङ र सर्लाहीका वीरबहादुर बम्जनलाई पक्राउ गरेको छ। विदेश जान लागेका सिन्धुपाल्चोक तालामाराङकी शुकमाया तामाङ, कृष्णा घलान (न्यौपाने) र रीता मगर छन्। यस्तै सर्लाहीकी हेमकुमारी मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्येकी शुकमायाले प्रहरीलाई आफूसहित ४ जना लेबनान जान लागेको बताएकी थिइन्।

 

पक्राउ परेका गोरखाका सानुले सरकारले कानुनी रूपमा महिलालाई खाडी मुलुक लैजान प्रतिबन्ध लगाएकाले भारत हुँदै लेबनान लैजान लागेको बताए। उनले लेबनान पुर्‍याएबापत एक जनाको १० देखि १५ हजार रुपैयाँ आफूले पाउने जानकारी दिए । उनले दर्ता नभएको ‘सुपर स्टार मेन पावर’ नाममा युवतीलाई गैरकानुनी तरिकाबाट विदेश पठाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले अहिलेसम्म १७ केटीलाई लेबनान पठाएका छन्।

 

यहाँबाट नेपालगन्ज हुँदै भारतको लखनऊ पुर्‍याएर उडान गराउने योजना रहेको उनले बताए । नेपाल-भारत सीमामा माइती नेपाल र प्रहरीलगायतका संघ-संस्थाले रोक्ने भएकाले सर्लाहीका वीरबहादुर बम्जनलाई उनीहरूको अभिभावक बनाइएको थियो। युवतीहरूले राहदानी बनाउनबाहेक आफूले कुनै प्रकारको पैसा नतिरेको बताए।

 

‘राहदानीमात्र आफूले बनाएको हो, त्यो बाहेकका सबै खर्च उनीहरूले नै गर्छ,’ सिन्धुपाल्चोककी शुकमायाले भनिन् ‘पैसा नभएकाले कमाउन जान लागेको हो।’

 

२७ वषर्ीया शुकमायाको घरमा श्रीमान् र ३ छोराछोरी छन्। छोराछोरीलाई राम्रो पढाउन आफू विदेश जान लागेको बताइन्। उनलाई ७ वर्षअघि नाता पर्ने एक दलालले भारतको मुम्बई सहरमा बेच्न लगेको थियो। कपिलवस्तु पुगेपछि थाहा पाएकी उनी भागेर आएको प्रहरीले बतायो।

 

कृष्णा न्यौपाने र रीतालाई गाउँकै एक व्यक्तिले बिनाखर्च लेबनान जान पाइने र महिनाको १५ हजार रुपैयाँ कमाई हुने बताएका थिए । ‘सुरुको महिना कमाएको तलब लैजानेलाई दिए पुग्थ्यो’ कृष्णाले भनिन्, ‘छोरा पाल्न विदेश जान लागेकी हुँ ।’

 

१६ वर्षको उमेरमा बिहे गरेकी उनको टोखा घर भएका श्रीमान्सँग सम्बन्ध विच्छेद भइसकेको छ । ‘बिहेपछि साह्रै दुःख दिन थालेपछि छाडिदिएँ, रातदिन पिट्न थालेपछि सम्बन्ध विच्छेद गरेँ।’ ५ वर्षको छोरो उनले सानी आमाको जिम्मा लगाएर जान लागेको बताइन् । ‘श्रीमान्को कुनै आश भएन, आफैं कमाएर छोरो हुर्काउनु छ।’

 

प्रहरीले उनीहरूलाई गैरकानुनी तरिकाले विदेश लैजाने गिरोह नै सक्रिय रहेको बतायो। विमानस्थलका सुरक्षाका एसएसपी लब बिष्टले उनीहरूलाई गाउँ-गाउँबाट खोजी गरेर लैजान लागेको बताए । ‘सिन्धुपाल्चोक र सर्लाहीमा रहेका दलालले उनीहरूलाई सानुको सम्पर्कमा पुर्‍याएको देखिन्छ,’ उनले भने ‘यिनीहरूलाई लेबनान लैजाने भन्दै भारत मै बेच्न पनि सक्छन् ।’ सिन्धुपाल्चोक चनौटीका चिनकाजी श्रेष्ठले केटीहरू काठमाडौं पठाएको एसएसपी बिष्टले जानकारी दिए।

 

उनीहरूले लखनऊबाट दुवई हुँदै लेबनान जाने भने पनि टिकट र भिसा केही थिएन । तामाङले ७ वर्षअघिदेखि म्यान पावरमा काम गरेको र त्यसैको सम्पर्कमार्फत आफूले अन्य केटीलाई उता लैजान लागेको बताए। उनले घरेलु कामदारका रूपमा महिलालाई लेबनान लैजान लागेको र युवतीलाई लाग्ने खर्च सबै उतैको कम्पनीले बेहोर्नेसमेत जानकारी दिए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024