लिबिया हिँडेका बंगलादेशी पक्राउ

1 January, 2020

शम्भु कट्टेल

काठमाडौं : नेपाललाई ‘ट्रान्जिट’ बनाएर बंगलादेशीको तेस्रो मुलुक यात्रा शंकास्पद देखिन थालेको छ। नेपाल हुँदै उत्तर अफ्रिकी मुलुक लिबिया छिर्न खोज्ने ६ शंकास्पद बंगलादेशी पक्राउ परेका छन्। शनिबार पक्राउ परेका उनीहरूलाई अध्यागमन विभागको हिरासतमा राखिएको छ।

बंगलादेशको बीपी ०९०७३७६ नम्बर राहदानीवाहक समिम हुसेन, ईए ०८३३०३१ नम्बर राहदानीवाहक माहादी हासन, ईबी ०१३४३११ नम्बर राहदानीवाहक सलाम दल्ली, ईई ०२४६२१८ नम्बर राहदानीवाहक आवएद उल्लान विमानस्थलबाट पक्राउ परेका हुन्। त्यसैगरी पक्राउ पर्नेमा बीपी ०१८३४८५ नम्बर राहदानीवाहक जुनासिद मिह र बीएक्स ०२०३७५७ नम्बरको राहदानीवाहक मोबाम्द अलाउद्धिन पनि छन्।

उनीहरू पुस ७ गते विमान बंगलादेशबाट नेपाल आएका थिए। बंगलादेशीले नेपालमा आगमन (अनअराइभल) भिसा पाउँछन्। पाँच दिन यहाँ बसेपछि उनीहरू एयर अरेबियाबाट लिबिया जान लागेका थिए। लिबिया द्वन्द्वग्रस्त मुलुक हो। त्यहाँ रोजगारीको सम्भावना न्यून छ। आतंकवादी संगठन आईएसआईएसले प्रभाव जमाउँदै आएको लिबियामा अमेरिकाले पटक–पटक आक्रमण गरेको थियो। लिबियाको अर्थतन्त्र जर्जर छ। लिबियाजस्तो द्वन्द्वग्रस्त मुलुकमा बंगलादेशी नेपालको बाटो किन जान चाहन्छन् भन्ने अनुसन्धानको विषय बनेको छ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले मानव तस्करको सञ्जालले नेपालको बाटो हुँदै उनीहरूलाई युरोप छिराउन लिबिया लैजान लागेको हुन सक्ने बताए। युरोप छिराउन तस्करले विगतमा नेपालीलाई पनि लिबिया पु¥याएको दृष्टान्त उनले दिए। ‘केही बंगलादेशी अन्तर्राष्ट्रिय आतंककारी संगठनमा आबद्ध भएका घटना पनि छन्’, उनले भने, ‘त्यसैले अहिले पक्राउ परेका बंगलादेशीबारे विभिन्न पाटोबाट अनुसन्धान गर्नुपर्ने देखिन्छ।’

पाँच दिनसम्म उनीहरू काठमाडौंमा बसेर के गरे र ककसलाई भेटे भन्ने अनुसन्धानको विषय बनेको छ। एयर अरेबियाका अधिकारीले बिनासोधखोज उनीहरूलाई बोर्डिङ पास दिएको स्रोतले बताएको छ। प्रस्थान अनुमति लिन अध्यागमन पुगेका उनीहरूलाई अध्यागमन कर्मचारीले शंकास्पद भन्दै रोकेका थिए। बंगलादेशीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाई तेस्रो मुलुक छिर्ने गरेको खुलेपछि उनीहरूलाई ‘शंकास्पद’ सूचीमा राखिएको हो।

विमानस्थल अध्यागमन कार्यालयले तत्काल पक्राउ गरी उनीहरूलाई थप अनुसन्धानका लागि कालिकास्थानस्थित अध्यागमन विभागमा पठाइदिए। विमानस्थलस्थित अध्यागमन प्रमुख दीर्घनारायण पौडेलले नेपाल हुँदै तेस्रो मुलुक जान नपाउने भएकाले पक्राउ गरिएको बताए। उनले भने, ‘यात्रा शंकास्पद देखिएकाले पक्राउ गरेका हौं।’ उनीहरूसँग नेपालस्थित बंगलादेशको दूतावासबाट जारी पत्रसमेत नभएको उनले बताए। विभागले थप अनुसन्धान गरिरहेको छ।

नेपाल र बंगलादेशमा सक्रिय तस्करले बंगलादेशीलाई काठमाडौंसम्म ल्याउने गरेका छन्। अहिले पक्राउ परेका बंगलादेशीलाई समेत कुनै गिरोहले नेपाल हुँदै लिबिया जान सुझाएको हुन सक्ने अध्यागमन अधिकारीले बताएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026