गाउँपालिकाको आरोप ठेकेदार कम्पनी तथा स्थानीयको गाउँपालिका प्रशासनमाथि ठेकेदार कम्पनीको लापरबाहीका कारण करेन्ट लागेर निर्माण मजदुरको मृत्यु भएको दाबी सिरहाको दक्षिणवर्ती लक्ष्मीपुर पतारी गाउँपालिकाले गरेको छ । गाउँपालिका केन्द्रको पहिलो तलामा निर्माणाधीन शौचालयमा जस्ता हाल्ने क्रममा बिजुलीको हाई भोल्टेजको तार छुँदा बुधबार मजदुरको मृत्यु भएको थियो । शौचालयको धुरीबाट केवल २ फिटको दूरीमा विद्युत्को नांगो तार थियो ।
शौचालयमा हाल्नका लागि जस्ता पल्टाउने क्रममा बिजुलीको तार छुँदा गम्भीर घाइते भएका लक्ष्मीपुर पतारी– १ का २५ वर्षीय वीरेन्द्रकुमार दासको मृत्यु भएको थियो । दास पछिल्लो करिब १० दिनदेखि गाउँपालिका केन्द्रको पहिलो तलामा दैनिक ज्यालादारीमा डकर्मीको काम गर्दै आएको स्थानीय गाउँले बताउँछन् ।
गाउँपालिकाको आग्रह ‘बेवास्ता’
गाउँपालिका कार्यालयले हाई भोल्टेजको बिजुलीको तारमा प्लास्टिकको कभर लगाएपछि मात्र काम सुरु गर्न आग्रह गरेको भए पनि ठेकेदार कम्पनीले गरेको लापरबाहीले मजदुरको मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र महतले दाबी गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत महतको दाबीअनुसार गाउँपालिका केन्द्रको पहिलो तला निर्माण गत आर्थिक वर्ष ०७४/७५ को ठेक्का सम्झौताअनुसार स्थानीय श्रीप्रसाद यादव सञ्चालक रहेको आनन्द निर्माण सेवाले गरिरहेको थियो ।
‘भवितव्य देखाउने षड्यन्त्र’
हाई भोल्टेजको तार केन्द्रको कार्यालयबाट करिब दुई फिटनजिकै छ । निर्माण मजदुरलाई लापरबाहीपूर्ण ढंगले काम लगाउँदा करेन्ट लागेर मृत्यु भएपछि उक्त घटनालाई भवितव्य देखाउने
षड्यन्त्र सुरु भएको स्थानीय बासिन्दा बताउँछन् ।
‘करिब एक हप्तादेखि गाउँपालिका केन्द्रको पहिलो तलाको निर्माणसम्बन्धी कामको ठेक्का सम्झौताको कागजात खोज्यौँ,’ नाम उल्लेख नगर्ने सर्तमा जनप्रतिनिधि भन्छन्, ‘ठेक्का सम्झौताको कागजात गाउँपालिका प्रशासनले देखाउन सकेन ।’ घटनापछि पहिलो तलाको ट्रस र इँटाको मात्र काम गर्ने गरी गत आवमै ११ लाख रुपैयाँको ठेक्का लिएको ठेकेदार कम्पनीलाई देखाउन खोजिएको बताइएको छ । स्रोतका अनुसार चालू आव ०७५/७६ मा गाउँपालिकाको बाउन्ड्री पर्खाल लगाउन ११ लाख रुपैयाँ
छुट्याइएको भए पनि गाउँपालिका प्रशासनले भित्रभित्रै निर्णय उल्ट्याएर उक्त रकम रङ, प्लास्टर र शौचालयमा लगाएको हो । त्यसमा पनि रङ, प्लास्टर र शौचालयको छुट्टाछुट्टै काम गर्ने गरी गाउँपालिका प्रशासनले काम गरिरहेको स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारले बिजुलीको हाई भोल्टेजको तार नजिकै भएको तथा लापरबाहीपूर्ण ढंगले काम लगाइएकाले दुःखद घटना भएको जनाएको छ । मृतक दासको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पोस्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको छ ।