केही दिनयता रोहिंग्या शरणार्थीहरू नेपाल प्रवेश गर्न थालेपछि भारतसँगको सबै सीमानाकामा चेकजाँचमा कडाइ गरिएको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई अवैध रूपमा प्रवेशलाई पूर्ण रूपमा रोक्न निर्देशन दिएको छ।
भारतमा अवैध बस्दै आएका केही रोहिंग्याहरू अवैध रूपमा नेपाल प्रवेश गरिसकेका छन्। हाल भारतमा मतदाता शुद्धीकरणका लागि स्पेसल इन्टेन्सिभ रिभिसन(एसआइआर) कार्यक्रम चलाइरहेको छ। त्यो कार्यक्रमले प्रभावित हुने भएपछि शरणार्थीलगायतमा भारतमा अवैध रूपमा बस्दै आएकाहरू नेपाल आउन थालेको सूचना सुरक्षा निकायको छ।
सिराहा जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना प्रकाशन गरी शंकास्पद व्यक्तिहरू सीमाबाट प्रवेश गर्न सक्ने तथा समुदायमा बसोबास नदिन आग्रह गरेको छ ।
अहिले पनि नेपालमा करिब ६ सय रोहिंग्याहरू अवैध रूपमा प्रवेश गरी बस्दै आएका छन्। भारतसँगको खुला सीमाका कारण थप शरणार्थी नेपाल आउने जोखिम बढेपछि सुरक्षा निकायले सक्रियता बढाएका छन्।
सशस्त्र प्रहरी बलले पनि सबै बिओपीलाई भारतबाट आउने हरेक नागरिकमाथि चेकजाँच गर्न निर्देशन दिएको छ। कतिपय शंकास्पदलाई फकाइएको समेत स्रोत बताउँछ । भारतको सीमा सशस्त्र बल(एसएसबी)सँग पनि नेपालका सुरक्षा निकायले समन्वय गरेर सीमामा विशेष चेकजाँच थालेका छन्।