रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

4 August, 2026

युरोपेली मुलुक रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ५ का ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका २० का २५ वर्षीय निश्चल तामाङको ज्यान गएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर उत्तरपूर्वमा रहेको बाकाउ सहरको चिमिई रेलमार्गमा आइतबार स्थानीय समयअनुसार बिहान ३ः२१ बजे भएको थियो। रेलको ठक्करबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनापछि बाकाउ इन्स्पेक्टोरेट फर इमर्जेन्सी सिचुएशन्सको टोली, मोबाइल सघन उपचार इकाइ र एम्बुलेन्स घटनास्थलमा पुगेका थिए। चिकित्सकहरूले घटनास्थलमै दुवै जनालाई मृत घोषणा गरेका थिए। हाल उनीहरूको शव बाकाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।

रोमानियाका लागि समेत मान्यता प्राप्त जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले घटनाबारे जानकारी प्राप्त भइसकेको जनाएको छ। दूतावासले मृतकका परिवारलाई जानकारी गराइसकेको तथा स्थानीय प्रशासनसँग समन्वय गर्दै शव व्यवस्थापन, कानुनी प्रक्रिया र आवश्यक कन्सुलर सहयोग उपलब्ध गराइरहेको जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024