‘रोजगारी प्रवर्धन प्राथमिकतामा’

20 July, 2026

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवर्धन र सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारले विभिन्न तहमा काम गरिरहेको बताउनुभएको छ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावास र मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार काठमाडौँमा आयाजित एक गोष्ठीमा उहाँले आन्तरिक रोजगारी प्रवर्धन र सुरक्षित वैदेशिक रोजगारी प्रवर्धन गर्ने दोहोरो नीति लागु गरेको बताउनुभयो ।

कार्यक्रममा वैदेशिक रोजगारी, विशेष गरी रोजगार अनुमति प्रणाली (इपिएस) ले नेपालको राष्ट्रिय अर्थतन्त्र र सामाजिक विकासमा पु¥याएको योगदानबारे विस्तृत छलफल गरियो । कार्यक्रममा मन्त्री यादवले सुरक्षित रोजगारी र डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर सरकारले काम गरेको बताउनुभयो । नेपाली युवाको आकाङ्क्षा पूरा गर्न समावेशी श्रम बजार निर्माण गर्ने र आप्रवासन प्रणालीलाई डिजिटलाइज गर्ने सरकारको योजना रहेको पनि उहाँको भनाइ थियो । मन्त्री यादवले श्रम बजारमा दक्ष, सम्मानजनक र आकर्षक रोजगारीका अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

वैदेशिक रोजगार विभागका अनुसार सन् २००८ देखि सन् २०२६ जुलाई १० सम्म एक लाख २५ हजार २१ जना नेपाली युवाले इपिएस प्रणालीमार्फत कोरियामा रोजगारी प्राप्त गरेका छन् । जसमा एक लाख १५ हजार ९८२ पुरुष र नौ हजार ३९ महिला इपिएसमार्फत कोरिया पुगेका छन् । हाल करिब ७० हजार नेपाली कोरियामा कार्यरत छन् भने करिब ५५ हजार श्रमिक स्वदेश फर्किसकेको इपिएस शाखाले जनाएको छ ।

गोष्ठीमा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले कोरियाली सरकारले फर्केका श्रमिकलाई नेपालमै उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न सहयोग गरिरहेको बताउनुभयो ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका–केहामी) र कृषि विकास बैङ्क लिमिटेड (एडिबिएल) बिचको साझेदारीमा फर्केका श्रमिकलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन सुरु गरिएको छ । कोरियाको आधुनिक प्रविधि र कार्यसंस्कार नेपालको कृषि, पर्यटन र उत्पादनमूलक क्षेत्रमा हस्तान्तरण भइरहेको उहाँको भनाइ थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024