‘रोजगारी गुमेर युवा स्वदेशमै रोकिँदा सामाजिक विद्रोह निम्त्याउन सक्छ’

20 March, 2026

Anish Mijar

अमेरिका-इजराल र इरानबिचको तनावले खाडी मुलुकहरू प्रभावित बनेका छन् । खाडीका विभिन्न मुलुकमा १७ लाख भन्दा बढी नेपाली छन् । इरानले खाडी राष्ट्रहरूमा रहेका अमेरिकी सैन्य बेसक्याम्पलाई लक्षित गर्दै जवाफी आक्रमण गरिरहेको छ । 

हालसम्म ७५ हजार भन्दा बढी नेपाली नागरिकले स्वदेश फर्किनका लागि आफ्नो विवरण टिपाएका छन् । यस्तो अवस्थाले नेपालको वैदेशिक रोजगारीको क्षेत्र प्रभावित हुँदा मुलुकमा परेको असर, सरकारले उद्धारका लागि गरेको प्रयास र आगामी चुनौतीका विषयमा श्रम आप्रवासन विज्ञ डा. जीवन बानियासँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश : 

मध्यपूर्वमा देखिएको पछिल्लो तनावले नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा कस्तो खालको प्रभाव पार्ला ?

मलेसिया बाहेक हाम्रो वैदेशिक रोजगारीको ठुलो हिस्सा खाडी मुलुकमै छ । यो तनावले पहिलो कुरा त नयाँ जानेहरूका लागि रोजगारीका अवसरहरू खुम्चिन्छन् । दोस्रो, त्यहाँ कार्यरत साथीहरूको काममा पनि अनिश्चितता पैदा हुन्छ । कतिपयको भिसा सकिएर फर्किने बेला भएको हुन्छ ।

तर तनावका कारण समयमै फर्किन नसक्दा खर्च बढ्ने र रोजगारदाताले पछि टिकटको व्यवस्था गर्छ कि गर्दैन भन्ने अन्योल हुन्छ । अहिलेको तुलनामा पछि टिकट महँगो हुनसक्छ । जसले थप आर्थिक भार पार्छ ।

मध्यपूर्वमा देखिएको युद्धको प्रभावले प्रभावित देशमा रहेका नेपाली श्रमिकका परिवार नेपालको अर्थतन्त्रमा दीर्घकालीन रूपमा कस्तो असर पार्छ ?

अधिकांश आप्रवासी श्रमिकका परिवारको जीविकोपार्जन, छोराछोरीको शिक्षा र स्वास्थ्य यही कमाइमा निर्भर छ । एकातिर कमाइ रोकिने वा घट्ने डर छ भने अर्कोतिर इन्धन र उपभोग्य वस्तुको मूल्यवृद्धिले महँगी बढिरहेको छ । यसले गर्दा श्रमिकका परिवारलाई घर चलाउनै गाह्रो हुने देखिन्छ । अर्को पक्ष यदि त्यहाँ ठुलो भौतिक विनाश भयो भने पुनर्निर्माणका लागि केही रोजगारी त सिर्जना होला । तर अहिलेको मुख्य चिन्ता भनेको त्यहाँ रहेका नेपालीहरूको सुरक्षा नै हो ।

नेपालको आन्तरिक बेरोजगारीको अवस्था यो संकटले थप्ने चुनौतीलाई कसरी हेर्नुभएको छ ?

हाम्रो देशमा बेरोजगारीको राष्ट्रिय औसत १०.७ प्रतिशत छ तर युवाहरूको हकमा यो २२ प्रतिशतको हाराहारीमा छ । यो तनावले गर्दा नयाँ युवाहरू जान नपाउने र उताबाट फर्किएकाहरू पनि यहीँ रोकिँदा बेरोजगारीको दर अझ बढ्छ । बेरोजगार युवाहरूको संख्या बढ्दै जाँदा राज्यप्रति वितृष्णा र असन्तुष्टि बढ्छ । जसले सामाजिक आन्दोलन वा विद्रोहको रूप लिन सक्छ । यो सुशासन र स्थिरताका लागि ठुलो चुनौती हो । 

युद्धको कारण नेपालीहरू रहेका प्रभावित देशबाट नेपालीहरूलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था आयो भने सरकारको तयारी क्षमता कस्तो देख्नुहुन्छ ?

खाडी मुलुकमा मात्रै १७–१८ लाख नेपाली छन् । यति ठुलो सङ्ख्यालाई एकै पटक उद्धार गर्न त हामीसँग न पर्याप्त जहाज छन्, न त पर्याप्त बजेट नै । यो निकै कठिन कार्य हो । यद्यपि, सरकारले टास्क फोर्स बनाएर । दूतावास र डायस्पोरा (प्रवासी नेपाली) सँग समन्वय गर्ने प्रयास त गरिरहेको छ ।

अहिलेको लागि कसलाई समस्या छ, को फर्किन चाहन्छन् भनेर फारम भराउने काम भइरहेको छ । तर समस्या गहिरिँदै गयो भने तल्लो तहसम्मै पुगेर काम गर्नुपर्ने हुन्छ । जसमा हाम्रो तयारी अझै बलियो हुनुपर्छ । 

अहिले मध्यपूर्वमा देखिएको इजरायल, अमेरिका इरानबिचको युद्धका कारण मात्रै नभएर नेपाल वैदेशिक रोजगारीमा हाम्रो निर्भरता त्यहाँका देशहरूले लिने नीतिले पनि हामीलाई असर गरिरहेको होइन ?

एकदमै, हामी वैदेशिक रोजगारीमा धेरै निर्भर भयौँ । अहिले साउदी, कुवेत जस्ता देशहरूले आफ्नै नागरिकलाई प्राथमिकता दिने नीति (जस्तैः साउदीकरण) लिएका छन् । उनीहरूले उच्च सीप भएका काममा आफ्नै नागरिक राख्ने र विदेशीलाई तल्लो तहको काममा मात्रै लगाउने गरिरहेका छन् । मलेसियाले पनि बेलाबेला विदेशी कामदार नलिने निर्णय गर्छ । त्यसैले वैदेशिक रोजगारी सधैँ सुरक्षित र स्थायी समाधान होइन । 

निर्वाचन मार्फत मुलुकमा नयाँ जनादेश सहित राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ सिट ल्याएर नयाँ सरकार बनाउन लागेको यस्तो अवस्थामा वैदेशिक रोजगारीको क्षेत्र प्रभावित भइरहेको अब नयाँ बन्ने सरकारले रोजगारीको क्षेत्रमा कस्ता काम गर्नुपर्छ यसका चुनौती के-के हुन् ?

रोजगारी सिर्जना गर्ने काम श्रम मन्त्रालयको मात्रै होइन । यसका लागि कृषि, पर्यटन, जलविद्युत र उद्योग जस्ता सबै क्षेत्रको समन्वय चाहिन्छ । हाम्रोमा तीन तहको सरकार (संघ, प्रदेश र स्थानीय) छ । तर स्थानीय तहमा रोजगारी सिर्जना गर्ने बजेट नै छैन । दोस्रो कुरा, हाम्रो रोजगारीको ८४ प्रतिशत हिस्सा अनौपचारिक क्षेत्रमा छ, जहाँ सामाजिक सुरक्षा र न्यूनतम सुविधा छैन । 

कृषिमा त झन् ९० प्रतिशतभन्दा बढी अनौपचारिक छ । त्यसैले रोजगारीलाई औपचारिक बनाउनु र मर्यादित श्रमको ग्यारेन्टी गर्नु ठुलो चुनौती हो । स्वरोजगारका लागि पुँजीमा पहुँच मात्रै भएर पुग्दैन । उत्पादित वस्तुको बजार व्यवस्थापन, बिमा, सिँचाइ र प्रविधिको सपोर्ट सिस्टम चाहिन्छ । अर्को मुख्य कुरा सीप हो । 

बजारलाई कस्तो सीप चाहिएको छ र हामीले कस्तो सीप दिइरहेका छौँ भन्नेमा तालमेल हुनुपर्छ । नेपालीहरूले विदेशबाट पठाएको पैसाको ७०–८० प्रतिशत शिक्षा, स्वास्थ्य र दैनिक उपभोगमा खर्च हुन्छ । 

यदि सरकारले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क वा सस्तोमा उपलब्ध गराउने हो भने मान्छेलाई धेरै पैसा कमाउन विदेशै जानुपर्ने बाध्यता कम हुन्छ । त्यसैले रोजगारीलाई एउटा प्रोजेक्टको रूपमा मात्र होइन, संरचनागत सुधारकै रूपमा हेर्नुपर्छ । 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024