रोजगारीको खोजीमा हैदराबाद पुगेका तिलकको गाडीको ठक्करबाट मृत्यु

26 March, 2026

Kedar Lafa

रोजगारीको खोजीमा भारतको हैदराबाद पुगेका खोटेहाङ गाउँपालिका– ७, खोटाङबजारस्थित भँडारेका २५ वर्षीय तिलक परियारको सवारी दुर्घटनामा मृत्यु भएको छ । होटेलमा काम गर्नका लागि साथीहरूसँगै यही चैत ५ गते हैदराबाद पुगेकै भोलिपल्ट चैत ६ गते गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका तिलकको उपचारको क्रममा आज (बुधबार) मृत्यु भएको हो ।

धन कमाउने सपना बोकेर हैदराबाद पुगेको हप्ता दिन नबित्दै तिलकले गाडी दुर्घटनामा ज्यान गुमाएको खबर प्राप्त भएको स्थानीय अगुवा अमरसिंह बस्नेतले जानकारी दिएका छन् । हैदराबाद गएर होटेलमा काम गर्ने भन्दै तिलक गाउँकै साथीहरू सन्तोष परियार र कृष्ण परियारको साथमा चैत २ गते घरबाट हिँडेका थिए ।

पैदल तथा गाडीको बाटो हुँदै चैत ५ गते साथीहरूसँग हैदराबाद पुगेका तिलकलाई चैत ६ गते गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । पैदल यात्रा गरेर सडक पार गर्ने क्रममा तिलकलाई गाडीले ठक्कर दिएको साथीहरूले बताएका छन् ।

दुर्घटनालगत्तै गान्धी अस्पताल, सेकन्दराबादमा भर्ना गरेर उपचार गर्ने क्रममा चैत ११ गते बिहान तिलकको मृत्यु भएको हैदराबादमा रहेका आफन्तले जानकारी दिएका छन् । कमजोर आर्थिक अवस्थाका तिलक र सन्तोष निर्वाचन प्रहरीको जिम्मेवारी सम्पन्न गरेर घर फर्किएपछि हैदराबादतर्फ गएको पारिवारिक स्रोतले बताएकाे छ ।

स्थानीयले दिएको जानकारीअनुसार मृतक तिलक घरका दुई छोरामध्ये कान्छो छोरा हुन् । उनीहरूका पाँचजना दिदीबहिनी रहेका छन् । श्रीमतीसँग अलग्गिएर बसेका मृतक तिलकका पाँच वर्षका एक छोरा छन् ।

हैदराबादतर्फ हिँडेकै दिन तिलकको घर हावाहुरीले उठाएर परिवारको बिचल्ली बनाइदिएको स्थानीयले बताएका छन् । मृतक तिलक, सन्तोष र कृष्णसँगै रोजगारी दिलाउने भन्दै भारत लैजाने ठेकेदार पछ्याउँदै हैदराबाद पुगेको बुझिएको छ ।

धन कमाउन भारत गएको छोराको गाडी दुर्घटनामा परेर हप्ता दिन नबित्दै मृत्यु भएको खबर आएपछि परिवार शोकमा डुबेकाे छ । खोटेहाङ गाउँपालिकासँगै दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहबाट बर्सेनि दर्जनौँ युवा रोजगारीको खोजीमा भारत जाने गरेका छन् ।

गत माघ २२ गते भारतको मेघालयस्थित कोइलाखानीमा विस्फाेट हुँदा खोटाङका चारजनाले ज्यान गुमाएका थिए । मेघालयस्थित अवैध कोइलाखानीमा भएको विस्फाेटमा परेर बराहपोखरी गाउँपालिका– १, बरापोखरीस्थित भन्ज्याङका २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर, ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर र हलेसी तुवाचुङ नगरपालिका– ५, दुर्छिमका ५० वर्षीय रत्न राईको मृत्यु भएको हो ।

विस्फाेटमा गम्भीर घाइते भएका नेपालका चारजनाको सिलोङस्थित नीलग्रिन हस्पिटल (अस्पताल)मा उपचार भइरहेको घटनास्थल पुगेका मृतकका आफन्त प्रकाश खपाङ्गी मगरले जानकारी दिएका छन् । बराहपोखरी गाउँपालिका– १, सालघारीका ४७ वर्षीय कर्णबहादुर मगर र भन्ज्याङका ४० वर्षीय बमबहादुर मगर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २, मुडेका ४८ वर्षीय दावा शेर्पा तथा छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका– १४, साउनेका ललितबहादुर मगरको उपचार भइरहेको हो ।

दुर्घटनाका मृतक परिवारलाई सम्बन्धित स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराएको छ । बराहपोखरी गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले रु. ५०–५० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024