रेमिट्यान्सको बाढी, अर्थतन्त्र सुक्खै : ११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो

9 July, 2025

पवन तिमिल्सिना

आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आव ०८०/८१ को ११ महिनाको तुलनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब १७ अर्ब रेमिट्यान्स भित्रिएको थियो । ०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड थियो ।

रेमिट्यान्स बढे पनि अर्थतन्त्र भने चलायमान भएको छैन । गतिलो वित्त नीतिको अभाव हुँदा अर्थतन्त्र चलायमान हुन नसकेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘सरकारले बजेट त ल्याउँछ, तर गतिलो वित्त नीति ल्याउन सकेको छैन । जसको कारण पुँजीगत खर्च बढ्न सकेको छैन । सरकारलाई रेमिट्यान्सकै मात लागिरहेको छ,’ उनले भने, ‘सरकारले सार्वजनिक वित्त सन्तुलनमा ल्याउन वैकल्पिक वित्त कोषको व्यवस्था गर्ने भनेको छ । तर, यसलाई कार्यान्वयनमा ल्याउन अझै सकिरहेको छैन । रेमिट्यान्स बनमारा जसरी फैलिरहेको छ । वित्तनीति गतिलो नहुँदासम्म अर्थतन्त्र चलायमान हुने देखिन्न ।’

०८१ जेठ मसान्तमा केन्द्रीय बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब ५१ अर्ब ५५ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात छ । ०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड थियो । तर, सरकारी खातामा रहेको पैसा अर्थतन्त्रमा इन्जेक्ट हुन नसक्दा औचित्यपूर्ण नदेखिएको पूर्वकार्यकारी निर्देशक थापाको भनाइ छ ।

आर्थिक गतिविधि चलायमान हुन नसकेको विषयलाई कर्जा प्रवाहको तथ्यले पुष्टि गरेको छ । चालू आवको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप पाँच खर्ब १७ अर्ब ६० करोड (८.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप पाँच खर्ब १४ अर्ब ५७ करोड (९.० प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ प्रतिशतले बढेको छ । निक्षेप वृद्धिदर दोहोरो अंकको भए पनि कर्जा प्रवाह सुस्त छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार खर्ब सात अर्ब ६२ करोड (८.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब ४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ । कर्जा प्रवाह बढे पनि निक्षेप संकलनको तुलनामा सुस्त देखिएको हो ।

चार वर्षयताकै कम मूल्यवृद्धिदर

अर्थतन्त्र सुस्त हुँदा चार वर्षयताकै कम मूल्यवृद्धिदर (मुद्रास्फीति) कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालू आव ०८१/८२ को जेठमा मुद्रास्फीति २.७२ प्रतिशत कायम भएको छ । आर्थिक वर्ष ०७७/७८ को माघ महिनामा मुद्रास्फीति २.७० प्रतिशत थियो । त्यसयता सोही दरभन्दा उच्च रहेको मुद्रास्फीति जेठ महिनामा खुम्चिएको हो । अघिल्लो वर्ष ०८०/८१ को सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो । जेठमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमश: ५.८५ प्रतिशत र ३.०७ प्रतिशत रहेको थियो ।

बाह्य क्षेत्रमा पैसा थुप्रियो

अर्थतन्त्र चलायमान नहुँदा बाह्य क्षेत्रका सूचकहरू धनात्मक देखिएका छन् । शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब ६२ करोडले बचतमा छ ।

आयात १३.१ प्रतिशतले र निर्यात ७७.८ प्रतिशतले बढेको छ । चालू आवको ११ महिनाको अवधिमा चालू खाता तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब ३८ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५१ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा दुई अर्ब २६ करोडले बचतमा छ ।

११ महिनाको अवधिमा ११ अर्ब नौ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आठ अर्ब २४ करोड थियो । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ ।

०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भएर ०८२ जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा ०८२ जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ ।

आर्थिक वर्ष ०८१/८२ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024