रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग खुश्बु ओलीको माग

25 September, 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले रुससँगको द्विपक्षीय बैंकिङ सम्बन्ध, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको एनओसी, चिकित्सा शिक्षाको मान्यता र श्रम स्वीकृतिलगायतका विषयमा तत्काल नीतिगत पहल गर्न माग गरेकी हुन् ।

सांसद ओलीले हाल रुसमा रहेका नेपालीहरूले आफ्नो कमाई वैधानिक रूपमा नेपाल पठाउन नसकिरहेको अवस्थालाई पहिलो गम्भीर समस्याका रूपमा औंल्याइन् ।

रुस–युक्रेन युद्धपछि रुसी बैंकहरू अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट प्रभावित हुँदा नेपाली नागरिकले नगद नै बोकेर नेपाल ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताइन् । यसले हुन्डीजस्तो अनौपचारिक कारोबारलाई प्रश्रय दिने भन्दै उनले भारतसँगको बैंकिङ संयन्त्र जस्तै अन्य विकल्पहरूको खोजी गर्न राष्ट्र बैंकलाई आग्रह गरिन् ।

शिक्षाको क्षेत्रमा देखिएका समस्याबारे बोल्दै उनले भनिन्, ‘रुस सरकारले दिएको पूर्ण छात्रवृत्ति पाएका नेपाली विद्यार्थीले समेत एनओसी नपाउँदा अवसर गुम्ने जोखिम बढेको छ ।’

रुसबाट चिकित्सा शिक्षा हासिल गरेका डाक्टरहरूको दर्ता र इन्टर्नसिपमा देखिएको जटिलता अन्त्य गर्न नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ‘इक्विभ्यालेन्ट म्याट्रिक्स’ तयार गर्नुपर्नेमा उनले जोड दिइन् ।

श्रम स्वीकृतिको विषयमा धारणा राख्दै सांसद ओलीले सैन्य क्षेत्रमा रोक लगाउनु ठिक भए पनि गैरसैन्य क्षेत्रमा चरणबद्ध रूपमा श्रम स्वीकृति खुलाउन सरकारलाई सुझाव दिइन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024