रुचिलाई फिलिपिन्समा ताज

13 May, 2013

रुबी रौनियार

भक्तपुरकी रुचि भुजु यस वर्ष फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीले गरेको मिस साउथ वेस्टर्न युनिभर्सिटीको उपाधि हात पार्न सफल भएकी छिन्। भक्तपुरको एभरेस्ट इंगलिस स्कुलबाट एसएलसी र वीरेन्द्र सैनिक आवासिय महाविद्यालयबाट विज्ञान विषयमा प्लसटु सकाएकी २० वर्षीया रुचि तीन वर्षअघि एमबिबिएस अध्ययन गर्न फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटी पुगेकी थिइन्।

भुजुलाई फेसन वा मोडलिङमा कुनै रुचि नभए पनि विश्वविद्यालयका साथीहरुको करले उनी ब्युटी कन्टेस्टमा सहभागी भएकी हुन्।

तीन महिनाअघि विश्वविद्यालयले गरेको उक्त ६१ औं पेजेन्टमा १३ कलेजका छात्राहरुले भाग लिएका थिए।

उपाधि जितेपछि भक्तपुरस्थित घरमा आमा भेट्न आएकी रुचिले नागरिकसँग भनिन्, ‘मैले खासै जित्नेनै भनेर भाग चाहिँ लिएकी होइन।’ उनले थपिन्, ‘तर जब उत्कृष्ट पाँचमा परेँ, तब जित्ने आश पलायो र म झनै आत्मविश्वासकासाथ सबै प्रश्नको उत्तर दिँदै गएपछि मिस साउथ वेस्टर्न युनिभर्सिटीको उपाधि हात पार्न सफल भएँ।’

विश्वविद्यालयको ६० वर्षको इतिहासमा ३० वर्ष पछि यो उपाधि जित्ने पहिलो विदेशी विद्यार्थी भएकी छिन् रुचि। जितपछि कलेजले एमबिबिएस द्वितीय वर्षकी छात्रा उनलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

रुचि डक्टर बनेपछि स्वदेश फर्केर स्वास्थ्य क्षेत्रमा योगदान पुर्यााउन उनी चाहन्छिन्, ‘स्वदेशमै दुर्गम, पिछडिएका, उपचार नपाएकाहरुको समुदायमा सेवा गर्ने मेरो लक्ष्य छ।’

आमा सुमिता श्रेष्ठ भुजु निकै दुःखका साथ डक्टर पढाउन फिलिपिन्स गएकी छोरीले अतिरिक्त  क्रियाकलापमा उत्कृष्ट भई पूर्ण छात्रवृत्ति पाउँदा निकै हर्षित छिन्। पेसाले शिक्षिका भएकोले पनि आफूले छोरीकै लगन र रुचि अनुसार विषयमा उच्च शिक्षा हासिल गर्न सहयोग गरेको उनको भनाइ छ।

बाबा विश्व भुजुलाई भने छोरीलाई इन्जिनियर बनाउने सपना थियो। तर छोरीको रुचि डक्टरतिर देखेपछि उनले छोरीको खुसीमासाथ दिएर अघि बढ्न सघाएको बताए।

रुचिकी दिदी रुबी भुजु पनि नेपाली चेलीहरु अवसर पाए विदेशमा समेत अब्बल हुने बताउँछिन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026