राहदानी नेपाली, बाहक विदेशी

31 July, 2011

सुरेन्द्र पौडेल

दैलेखकी आचार्य थरकी एक महिलाको चार महिनाअघि खाडी राष्ट्रमा काम गर्दागर्दै मृत्यु भयो। उनको शव ‘खाडीबाट नेपाल ल्याइपाऊँ’ भनेर परराष्ट्र मन्त्रालयमा एक पुरुष अनुनयविनय गर्न आए।

ती पुरुषको परिचय पाउँदा परराष्ट्र कर्मचारी अचम्मित भए। भारतका ती बंगाली पुरुष खाडीमा मृत्यु भएकी नेपाली महिलालाई पत्नी दाबी गर्दै थिए।

मृतकको राहदानीमा लेखिएको स्थायी ठेगाना ती भारतीयले न कहिल्यै सुनेका थिए, न त्यो ठाउँ चिनेकै। तैपनि उनी दिनहुँ आएर मृतक महिला आफ्नी पत्नी भएको दाबी गर्दै शव ल्याइदिन हारगुहार गर्थे।

अनुसन्धानबाट पत्ता लाग्यो- मृतक महिला दैलेखकी आचार्य नभई तिनै भारतीयकी पत्नी रहिछन्। आचार्यको राहदानीमा फोटो परिवर्तन (पिसी) गरेर भारतीय महिला खाडीमा काम गर्न पुगेकी थिइन्। तथ्य पत्ता लागेपछि दिनहुँ परराष्ट्र धाउने ती भारतीय अहिले त्यहाँ आउन छाडेका छन्।

********* अघिल्लो साता कुवेतस्थित नेपाली दूतावासले केही सीप नलागेपछि एउट सूचना निकाल्यो- ‘वास्तविक मृतकको पहिचान हुन नसकेपछि लास नेपाल पठाउने कार्यमा कठिनाइ भइरहेको छ।’ दूतावासका अनुसार अहिले पाँच महिला र एक पुरुष कामदारको शव कुवेतको विधि विज्ञान प्रयोगशालामा बेवारिसे छ।

मृतक चार महिलाका राहदानीमा ठेगाना मोरङ र नाम सरस्वती खवास, सविता नेपाल, सानीमाया राई र याङ्हाङ उल्लेख छ। शान्ति दर्जी र कृष्णे कामीको स्थायी ठेगाना क्रमशः म्याग्दी र कपिलवस्तु छ। तर सम्बन्धित ठेगानामा खोजबिन गर्दा ती नाम गरेका कोही विदेश गएको भेटिएन।

दूतावासले मृतकको शव पहिचान गरी नेपाल फर्काउन नसक्नुपछाडि एउटै कारण छ- राहदानीमा उल्लेख गरिएको ठेगानामा ती व्यक्तिका परिवारलाई सम्पर्क गर्न नसक्नू। दूतावासका अनुसार यी मृतक पनि या त अर्कैको राहदानी पिसी गरेर आउने नेपाली नै हुन्, या विदेशी। ********

मंगलबार नेपाली राहदानी प्रयोग गरी अमेरिका जान लागेका दुई तिब्बती शरणार्थीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलमा पक्राउ गर्‍यो। पक्राउ पर्नेमा १५ वर्षीय ज्याङ तेन्जिङ र उनकी १२ वर्षीया बहिनी तेसि्रङ ल्म्हो छन्। उनीहरूका साथबाट अमेरिकाको तीनमहिने भिसासहित नेपाली राहदानी र अमेरिकी दूतावासले दिएको व्यक्तिगत विशेष डकुमेन्ट फेला पर्‍यो। शरणार्थीले विदेश जाँदा गृहको सिफारिसमा ट्राभल्स डकुमेन्ट लिनुपर्ने प्रावधान छ, यो सुविधा पनि नेपालमा दर्ता भएका शरणार्थीले मात्र पाउँछन्। तर पक्राउ परेकाहरू सक्कली नेपाली हस्तलिखित राहदानीमा, तीनमहिने भिसा पाएर अमेरिका जाँदै थिए।

‘यन्त्रले पढ्नसक्ने राहदानी (एमआरपी) को दुरुपयोग सम्भव छैन,’ परराष्ट्र मन्त्रालयस्थित केन्द्रीय राहदानी कार्यालय (सिपिओ) स्रोतले भन्यो, ‘अहिले भेटिएका सबै हस्तलिखित राहदानी हुन्।’

प्रहरीले सधैँ राहदानी दुरुपयोग गर्ने गिरोह सक्रिय रहेको बताउँदै आएको छ। सभासद् गायत्री साह, बिपी यादवलगायत साधारण मानिसका हस्तलिखित राहदानी पिसी गरी खरिदबिक्री गर्ने कार्यमा यही गिरोह संलग्न छ। प्रहरी र सिपिओलाई आधार मान्ने हो भने हस्तलिखित राहदानी दुरुपयोग गर्न यो गिरोह अझै ९ वर्ष सक्रिय रहन सक्छ। किनकि, हस्तलिखित राहदानी सन् २०२० सम्म प्रयोग गर्न सकिन्छ।

परराष्ट्रका अनुसार अप्रिल १, २०१० भन्दा अगाडि लिएका राहदानी त्यहाँ उल्लेख गरिएअनुसार सन् २०२० सम्म प्रयोग गर्न पाइन्छ। अप्रिल १ बाट एमआरपी वितरण गर्नु अगाडिसम्म वितरण गरिएका राहदानी सन् २०१५ सम्म मात्र प्रयोग गर्न सकिने प्रावधान छ। सन् २०२० सम्म प्रयोग गर्न सकिने राहदानीको संख्या लाखौं छ।

पीसी गरिएको पासपोर्टको नमूनाः सभासद गायत्री साहको यो पासपोर्टमा अर्कै महिलाको फोटो राखिएको छ।

‘राहदानी दुरुपयोगका घटना दिनप्रतिदिन बढ्दै छन्,’ महानगरीय प्रहरी अपराध महाशाखा स्रोतले भन्यो, ‘जबसम्म हस्तलिखित राहदानी प्रयोगमा रहन्छ, पिसी गरी दुरुपयोग जारी नै रहन्छ। एमआरपीमा हेरफेर गर्न मिल्दैन त्यसैले २०२० सम्म राहदानी पिसी गरी बिक्रीवितरण गर्न गिरोहले केही हस्तलिखित राहदानी होल्ड गरेर राखेको सूचना हामीले पाएका छौं। यस विषयमा हामी अनुसन्धान गर्दैछौं।’

नेपाली राहदानी बढी नै दुरुपयोग भएको थाहा पाएपछि केही विदेशी नियोगले हस्तलिखित राहदानीमाथि शंका गर्दै छानबिन गर्न फिर्ता गर्ने गरेका पनि छन्। केही महिनाअगाडि बंगलादेशस्थित साउदी अरबको दूतावासले करिब ३ सय नेपाली राहदानी पिसी भएको शंका गर्दै छानबिनका लागि नेपाल पठाएको थियो। छानबिन गर्दा ती राहदानी सबै सक्कली भएको पुष्टि भएको थियो।

‘दुरुपयोग बढ्दा हस्तलिखित राहदानीको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ,’ महानगरीय प्रहरी अपराध महाशाखा स्रोतले भन्यो, ‘सन् २०२० सम्म म्याद रहेका राहदानीबाहकलाई एमआरपी लिन सरकारले केही सुविधा दिएर हस्तलिखित राहदानी प्रयोग बन्द गरियो भनेमात्र दुरुपयोग नहुने देखिन्छ।’

प्रहरीका अनुसार पिसी गरिएका नेपाली हस्तलिखित राहदानी नेपाल, भारत, बंगलादेश र तिब्ततका शरणर्थीले प्रयोग गरेको भेटिएको छ। खासगरी खाडी राष्ट्रले बंगलादेशी नागरिक र भारतीय महिला कामदारलाई प्रतिबन्ध लगाएपछि उनीहरू पिसी गरिएका नेपाली राहदानीबाट त्यहाँ जाने गरेका छन्। उनीहरूले यस्तो एउटा राहदानी ४ लाख रुपैयाँसम्ममा किन्ने गर्छन्।

नेपालीको हकमा भने दुई तरिकाबाट पिसी गरी प्रयोग गरेको प्रहरीले भेटेको छ। पहिलो, दलालले राहदानी लिएको लामो समयसम्म पनि काममा पठाउन नसकेपछि केहीले दिक्क मानेर राहदानीको माया मारी घर फर्कने गर्छन्। त्यस्ता राहदानीको भिसामा दलालले पिसी गरी अर्कै नेपालीलाई पठाउने गर्छन्। दोस्रो, खाडी राष्ट्रहरूले कामदारको निश्चित उमेर तोकेका छन्। नागरिकताअनुसार राहदानी बन्ने भएकाले उनीहरूले तोकेको भन्दा उमेर नाघेमा खाडी राष्ट्र जान पाइँदैन। यस्तो बेलमा कम उमेर भएकाको राहदानीमा बढी उमेर भएका पिसी गरी जाने गर्छन्।

‘हस्तलिखित राहदानी रहेसम्म यस्ता समस्य आइरहन्छन्,’ प्रहरी स्रोतले भन्यो, ‘पिसी गरी जाने धेरै श्रम स्वीकृति नलिई भारत हुँदै जानेहरू छन्। यसलाई रोक्ने एउटै उपाय एमआरपीको मात्र प्रयोग गर्नु हो, नत्र सन् २०२० सम्म धेरै नेपालीको शव खाडीमै अड्किनेछन्।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024