गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत धावनमार्गको पश्चिम कुनाबाट सूर्यास्त हुँदै थियो । त्यहीबेला अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिर सिरहाको सुखीपुर नगरपालिका–१, कि प्रमिलाकुमारी राम कुवेतबाट आउने जहाज कुरिराखेकी थिइन् । उनका आँखाले धावनमार्गको क्षितिज नियालिरहेका थिए ।
विभिन्न कारणले कुवेतबाट ‘डिर्पोट’ गरिएका नेपाली र अलपत्र शव लिएर कुवेत एयरवेजको विमान बुधबार पौने ५ बजे भैरहवा विमानस्थलमा अवतरण गर्ने जानकारी थियो । त्यही सूचनालाई आधार मानेर प्रमिला आफ्ना दुई सन्तान, मामा र बुवासित यहाँ आइपुगेकी थिइन् । विमानस्थल परिसरमा अरू सर्वसाधरण पनि आफन्तको पर्खाइमा थिए । तर, प्रमिलाको पर्खाइ अरूको भन्दा भिन्न थियो । उनी २१ महिनाअघि परिवारको सुखका लागि धन कमाउन परदेसिएका पति रमेशकुमार राम (मोची) को शव कुरिरहेकी थिइन् ।
रुँदारुँदा आँसु रित्तिएर प्रमिलाका परेला ओभाना भइसकेका थिए । मनमा उकुसमुकुस बढेर होला साँझ पर्दै गएपछि उनी झन् अत्तालिएकी थिइन् । साथै रहेका एक वर्षका छोरा पानीको बोतल खेलाउँदैं ‘बाबा’ भनिरहेका थिए । ७ वर्षकी छोरी भाइ डोर्याएर विमानस्थल परिसरमा खेलिरहेकी थिइन् । बुधबार बिहान बसमा यात्रा गरेर आएका उनीहरू शव लिएर कसरी फर्किने भन्ने तनावमा देखिन्थे । अपराह्न अवतरण गर्नुपर्ने विमान आगमनमा ढिलाइ हुने सूचना पाएपछि परिवारको छटपटी झनै बढेको थियो । ‘जहाज कतिबेला आउँछ ? नयाँ मान्छे देख्यो कि प्रमिला प्रश्न गर्थिन्, ‘खै सरहरू कहाँ हुनुहुन्छ ?’
प्रमिलाका अनुसार पति कुवेत गएको दुई वर्ष पुग्न तीन महिना बाँकी थियो । गत फागुन २० गते राति कुवेतमा ड्युटीमा रहेका पतिसित कुराकानी भएको थियो । काम सकेर रेलबाट डेरा फर्किने बेला रमेशले लामै कुराकानी गरेका थिए । छोराछोरीको हालखबर सोधे । आफ्नी आमाको खबर बुझे । सानो छोरासित फोनमै जिस्किए । ‘राति ११ बजे उहाँसित फोनमा कुराकानी गरेर सुतेकी थिएँ,’प्रमिलाले भनिन्, ‘फागुन २१ गते राम्रोसित भोट हाल्नु भन्नु भएको थियो ।’ पतिले भनेझैँ उनी फागुन २१ गते बिहान मतदान गर्न गइन् । भोट हालेर फर्किएपछि त्यसैदिन अपराह्न४ बजे पतिको मुत्यु भएको खबर सुनेको उनले बताइन् ।
बुवा रामबाबुका अनुसार रमेशले स्वास्थ्यमा समस्या रहेकोबारे कुरै गरेका थिएनन । ‘एक्कासि अस्पताल पुर्याइएछ,’उनले भने, ‘डयुटीबाट फर्किएपछि छाती दुख्यो भनेपछि साथीहरूले अस्पताल लगेछन् ।’ साथीले फोन गरेर उपचारका क्रममा रमेशको मृत्युको खबर सुनाएको उनले बताए । आफ्ना दुई छोरामध्ये रमेश जेठो छोरा भएको उनले बताए । रमेशका १० र ७ वर्षका छोरी र एक वर्षको छोरा रहेका छन् । घरबासबाहेक जग्गा जमिन केही छैन । ‘हाम्रो भरोसा भनेकै त्यही छोरा थियो,’ रामबाबुले भने ।
प्रमिलाका अनुसार कुवेतस्थित नेपाली दूतावासले फोन गरेर विमानमार्फत शव पठाउन लागेको जानकारी गराएको थियो । त्यसपछि वैदेशिक रोजगार बोर्डको सचिवालयले फोन गरेर परिवारलाई भैरहवा बोलाएको थियो । ‘अब परिवारको रेखदेख गर्ने जिम्मा मेरो काँधमा आयो,’प्रमिलाले भनिन, ‘तर, के गरेर जिम्मेवारी पार लाउने हो मलाई थाहा छैन ।’ शव लिएर आएको कुवेत एयरवेजको विमान बुधबार साँझ साढे ७ बजे भैरहवा अवतरण गरेको थियो । आवश्यक प्रक्रिया पूरा गर्दागर्दै राति भइसकेको थियो ।
भैरहवाबाट सिरहासम्म शव पुर्याउनका लागि बोर्डको सचिवालयले नै शववाहन ल्याइएको थियो । वैदेशिक रोजगार बोर्डको सचिवालयका शाखा अधिकृत कमल आचार्यका अनुसार कुवेतबाट शव ल्याउने प्रक्रियादेखि घरसम्म पुर्याउने काम बोर्डले गरेको हो । आचार्यका अनुसार श्रम स्वीकृति कायम रहेकाले रमेशका परिवारले कल्याणकारी कोशबाट १० लाख रुपैयाँ पाउने छन् भने उनका सन्तानको उमेर १६ वर्ष नपुगुञ्जेल प्रत्येक वर्ष १५ हजारका दरले खर्च पाउने छन् । रमेशका परिवारले म्यादी बिमाबापत रिलायबल इन्स्योरेन्सबाट १४ लाख रुपैयाँ प्राप्त गर्ने आचार्याले बताए । ‘खासमा १५ लाखको बिमा हो,’उनले भने, ‘पीडितले कर काटेर १४ लाख रुपैयाँ पाउने हुन् ।’ यस्ता राहत र सहयोग सम्बन्धित पालिकाबाट उपलब्ध हुने उनले बताए ।
कुवेत एयरवेजको चार्टर्ड विमानबाट बुधबार साँझ ९ वटा शव ल्याइएको थियो । दाङको डुडुवा गाउँपालिका–२, का खुसीराम चौधरीको शव पनि ल्याइएको थियो । शव बुझ्न उनका भतिजाहरू विमानस्थल आएका थिए । उनीहरूका अनुसार खुसीरामको फागुन ३० गते मृत्यु भएको थियो । बुधबार खुसीरामको शव मात्र नेपाल ल्याइएको हो । खुसीरामकी पत्नी, छोरा र छोरी कुवेतमै छन् । फर्किनका लागि विमानको टिकट नपाएपछि उनीहरू आउन नसकेको परिवारले बताए । ‘उहाँको स्वास्थ्य अवस्था नर्मल थियो,’ शव बुझ्न आएका भतिजाले भने, ‘हर्ट एट्याक भएर बित्नु भएको हो ।’ परिवारका बाँकी सदस्य केही दिनमा आउने उनले बताए ।
शव बुझ्ने प्रक्रियाका लागि गौतमबुद्ध विमानस्थलमा आएका रोजगार बोर्डको सचिवालयका शाखा अधिकृत आचार्यका अनुसार यी दुईबाहेक सिन्धुपाल्चोक कि सम्झना गोले, खोटाङका वसन्त राई, उदयपुरकी कोपिला धामी, सुर्खेतकी यमुना सुनार, सल्यानका कृष्णराज बुढा, तनहुँका रमेश नेपाली र सिन्धुलीकी मन्जु मोक्तान पाख्रिनको शव ल्याइएको थियो । बोर्डको समन्वयमा शव घरघरसम्म पुर्याइएको आचार्यले बताए ।