राजदूत शर्मालाई मौखिक स्पष्टीकरण

21 June, 2013

सुन्दर खनाल

आफूविरुद्ध आलोचनात्मक लेख लेखेकै भरमा एक नेपाली कामदारलाई घर फिर्ता गर्न कतारी सरकारलाई पत्र लेख्ने राजदूत मायाकुमारी शर्मालाई सरकारले मौखिक स्पष्टीकरणकै भरमा उन्मुक्ति दिएको छ ।

स्रोतहरूका अनुसार परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले मन्त्रालयलाई कुनै जानकारी नदिई नेपाली नागरिक ‘डिपोर्ट’का लागि कतारी सरकारलाई पत्र लेखेकोबारे मौखिक रूपमा मात्र सोधेका हुन् । शर्माले ‘हतार-हतारमा मन्त्रालयलाई भन्न भुलेको’ भनेर जवाफ दिएकी थिइन् ।

मन्त्रालयले लेखकै कारण भेटवाललाई डिपोर्ट गराउनुपर्ने भनेर पत्र लेख्नुको औचित्यबारे चाहिँ शर्मासँग सोधपुछ गरेको छैन । ‘यो त मुलुककै बदनाम हुने कुरा हो, फोनमा सोधेर टारियो । लिखित स्पष्टीकरणसम्म त सोध्नुपथ्र्यो,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।

शर्माले दोहास्थित एक निजी कम्पनीका म्यानेजर चितवनका दीपक भनिने दीपेन्द्र भेटवाललाई डिपोर्ट गर्न गत मे १ मा कतारका विदेश मन्त्रालय, कन्सुलर विभागलाई पत्र लेखेकी थिइन् । उनले पत्रमा भेटवालको लेखमा नेपाल दूतावासविरुद्ध लेखिएकोे, महामहिम राजदूतको व्यक्तित्वको आलोचना गरिएको र मजदुरहरूलाई हडतालमा उकासेको उल्लेख गरेकी थिइन् । ‘उनीमाथि कारबाही गरिएन भने मजदुरहरूले आगो लगाएर आत्महत्या गर्न सक्छन्,’ पत्रमा भनिएको छ ।

राजदूत शर्माले भेटवाललाई फिर्ता पठाउने मिति समेत थाहा दिन आग्रह गर्दै त्यसो भएमा काठमाडौंमा भेटवाललाई पक्रन खबर गर्न सक्ने पत्रबाट जानकारी गराएकी थिइन् ।

कृषि विकास बैंकमा शाखा अधिकृत तहमा कार्यरत शर्मा एमाओवादीको कोटामा कतारका लागि राजदूत नियुक्त भएकी हुन् । नियुक्तिपछि उनी विभिन्न ‘आलोकाँचो’ कामका कारण विवादमा पर्दै आएकी छन् । उनको कार्यशैली र गैरजिम्मेवारीपन चर्चाको विषय बन्ने गरेको अधिकारीहरू बताउँछन् । यसअघि बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा उनले कतार नेपालीका लागि खुला जेल भनेर टिप्पणी गर्दा नेपालस्थित कतारी दूतावासले औपचारिक रूपमै आपत्ति जनाएको थियो ।

उनले यसपटक भेटवाललाई कतारबाट निकाला गर्न सुटुक्क पत्र लेखेकी हुन् । उक्त पत्रका आधारमा कतारको अनुसन्धान तथा अनुगमन विभागका अधिकारीले भेटवाललाई डिपोर्ट हुनका लागि राहदानी र टिकट ल्याउन भनेका थिए । आफू कार्यरत कम्पनीको जमानीमा उनी हाजिर हुनुपर्ने गरी छाडिएको थियो ।

नेपाली श्रमिकका समस्यका विषयमा लेखहरू लेख्ने भेटवाललाई डिपोर्ट गर्न राजदूत शर्माले पत्र लेखेपछि कतारस्थित नेपाली समुदाय विरोधमा उत्रेको थियो । पत्र फिर्ताको माग गर्दै नेपाली समुदायले माओवादी नेतृत्व र मुख्य सचिव लीलामणि पौडेल समेतलाई सम्पर्क गरी दबाब दिएका थिए । पौडेलले परराष्ट्र सचिव भट्टराईले यसबारे जानकारी गराई पत्र फिर्ता गराउन निर्देशन दिएका थिए । भट्टराईकै निर्देशनपछि शर्माले पत्र फिर्ता गरेकी हुन् । परराष्ट्र प्रवक्ता अर्जुन थापाले शर्माको पत्रसम्बन्धी तथ्यगत समाचार आएपछि मन्त्रालयले मौखिक स्पष्टीकरण सोधेको मात्र बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026