रसुवागढीमा ९३ कर्मचारी–श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै

7 September, 2026

Hom Karki & Seema Tamang

गोरखाका टुकनाथ अधिकारी हरेक दिन एउटै प्रश्न दोहोर्‍याइरहन्छन्– रसुवागढी जलविद्युत् आयोजनामा फसेकाहरूको खोजी प्रक्रिया कहिले पूरा हुन्छ ? भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका दाजु सन्तोष अधिकारी त्यहीं थुनिएको उनको अनुमान छ । बाढी गएको ११ दिन बितिसक्दा पनि सन्तोषसहित ९३ कर्मचारी र श्रमिकको अवस्था अज्ञात छ ।

१११ मेगावाटको आयोजनामा सन्तोष प्लान्ट म्यानेजर हुन् । उनले त्यहाँ काम गरेको ६ वर्ष भइसकेको थियो । ‘उद्धार निकै ढिला भइसक्यो । कम्पनीलाई हामीले हारगुहार गरिरहेका छौं,’ अजिरकोट–३, गोरखाका टुकनाथले कान्तिपुरसँग भने, ‘राज्य संयन्त्रमा हाम्रो पहुँच छैन । हामी अझै उद्धारको पर्खाइमा छौं ।’

भोटेकोशी बाढीपछि परियोजनामा कार्यरत ९३ जना श्रमिक सम्पर्कविहीन छन् । जसमा रसुवागढी हाइड्रोपावर कम्पनीका ५१, एम शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५, सीडब्लूईई (चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन) का ४ र भानास कन्स्ट्रक्सनका ३ जना छन् ।

भोटेकोशी बाढीको दुई दिनपछि सन्तोषको खोजीका लागि टुकनाथ आफैं आयोजना आसपासको जंगलमा पुगेका थिए । ‘हामीलाई आयोजनाले हेलिकोप्टरको व्यवस्था गरिदिएको थियो । हामी चार आफन्त गयौं । दाइको लोकेसेन खैरी भन्ने ठाउँमा देखिएको थियो । पाँच घण्टा उकालो हिँडेर डाँडासम्म पुग्यौं,’ उनले भने, ‘दुई दिन त्यहीँको गोठमा बसेर खोजबिन गरेका थियौं । उहाँहरू बस्ने क्याम्पको छेउछाउमा भने पुग्न सकिएन ।’

उनका अनुसार जंगल र खोलाको अप्ठ्यारो खोचमा खोजी नै भएको छैन । ‘सेनाले सुरुङमा मात्र नभएर घट्टेखोला क्षेत्रका खोचमा पनि खोज्नुपर्थ्यो,’ उनले भने, ‘अहिले एउटै कुराको दुःख लागेको छ, जतिबेला पुग्नुपर्थ्यो, त्यतिबेला राज्य पुगेन ।’

टुकनाथजस्तै बेपत्ता भएकाका परिवार तथा आफन्त हरेक दिन रसुवागढी जलविद्युत् परियोजनाको कार्यालयमा धाइरहेका छन् । उनीहरूले उद्धारको प्रक्रिया भइरहेको भन्दै केही दिन पर्खन अनुरोध गरिरहेका छन् ।

परियोजनाको सुरुङ र भूमिगत विद्युत् गृहभित्र कति फसेका छन् भन्ने अझै यकिन हुन भने सकेको छैन । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका सचिव नरनाथ न्यौपानेका अनुसार बाढी आएको बेला भूमिगत विद्युत्गृहमा ३ देखि १४ जना कार्यरत थिए । ‘विद्युत्गृहकै कन्ट्रोल रुममा ३ जना थिए । पावरहाउस परिसरमा ११ जना थिए,’ उनले भने, ‘विद्युत्गृहबाट सुरुङ हुँदै बाहिर निस्केका पनि हुन सक्छन् । बाहिर भएकाहरू पनि पावरहाउसमा गएको पनि हुन सक्छ ।’

विद्युतगृहभन्दा बाहिरबाट सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि कम्पनीले नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन र हिमालयन समिट क्लबको सहयोग लिएको छ । एसोसिएसन र क्लबका दक्ष/अनुभवी रक क्लाइम्बर्समार्फत घट्टेखोला क्याम्प र उक्त क्षेत्र वरपर खोजी भइरहेको कम्पनीका सचिव न्यौपानेले बताए । ‘हाम्रा कर्मचारी भागेर जान सक्ने सम्भावित ठाउँमा खोजी गर्न भनेका छौं । कतै भागेर, घाइते भएर कुनाकाप्चामा बस्नुभाछ कि उहाँहरूलाई खोज्न र त्यस्तो भेटेमा स्थानीय व्यक्तिलाई सूचना दिन भनेका छौं,’ उनले भने ।

रसुवागढी आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे हाइड्रो कम्पनीअन्तर्गतको परियोजना हो । आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ र २ (टिमुरे–थुमान) मा छ । यसको बाँध (हेडवर्क्स) रसुवागढीबाट करिब ४०० मिटर तल छ । करिब ४.२ किलोमिटर सुरुङपछि भूमिगत विद्युतगृह पुगिन्छ । करिब २३ अर्ब ७३ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको यो आयोजनाको बाँधलगायतका मुख्य संरचनामा गत वर्ष असारमा आएको बाढीले क्षति पुर्‍याएको थियो । पुनर्निर्माणपछि गत असारमा मात्रै आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याइएको थियो । १० भदौको बाढीले फेरि परियोजनाको बाँध, संरचना (इन्टेक), पहुँच मार्ग, कार्यालय भवन, ट्रान्सफर्मर तथा विद्युतीय प्रणाली, सुरुङ प्रवेश क्षेत्र, निर्माण तथा मर्मतका उपकरणलाई क्षति पुर्‍याएको छ ।

न्यौपानेले मौसमी प्रतिकूलता र भौगोलिक कठिनाइले उद्धार चुनौतीपूर्ण रहको बताए । ‘धुन्चेबाट टिमुरे, तातोपानी डाँडा (भूमिगत विद्युत्गृह) जाने बाटो छैन । उद्धार टोलीदेखि आवश्यक सामग्री सबै हेलिकोप्टरले नै पुर्‍याउने हो,’ उनले भने ।

भूमिगत विद्युत्गृहमा हिलोपानी, लेदो तान्नका लागि पम्प र जेनेरेटर पुर्‍याइएपछि शनिबार कामले तीव्रता पाएको छ । मिनी एक्स्काभेटर र जेनेरेटरलगायत उपकरण पनि नुवाकोटको बट्टारमा तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ । नेपाली सेनाको टोली गत सोमबार सुरुङको खुला भागसम्म पुगेर फर्केको थियो । ‘शुक्रबारसम्म लेदो हटाउने काम हातैबाट भइरहेको थियो । शनिबार पम्पबाट सुरु भएको छ,’ कम्पनी सचिव न्यौपानेले भने ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आयोजनाको सुरुङ र भूमिगत विद्युत्गृहभित्र खोजी कार्य जारी रहेको बताए । ‘त्यहाँ हामीले २० जनाको टोली खटाएका छौं । सुरुङको अघिल्लो भाग बाढीले बगाएको छ । भूमिगत जलविद्युत्गृहको छैटौं तलामा मान्छे छन् भनिएको थियो । त्यहाँ पूरै खोजी गर्दा केही भेटिएन । पाँचौं तलामा माटोको लेदो छ । त्यसभन्दा तल खोजी कार्य जारी छ,’ उनले भने ।

परियोजनाबाट बेपत्ता भएका सिन्धुपाल्चोकका जीवन जिन्छेका दाइ सुमनले आफूहरू अझै आशामा पर्खिबसेको बताए । ‘सुरुङभित्रै रहेको विश्वास छ । त्यहाँबाट अन्य ठाउँमा निस्किएको जस्तो लाग्दैन । परियोजनाले अझै केही दिन पर्खन भनिरहेको छ,’ उनले भने, ‘हामीलाई धेरै अत्यास लागिसक्यो ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024