युवालाई प्रमाणपत्र होइन, काम गर्ने सिप दिनुपर्छ : श्रममन्त्री यादव

12 October, 2026

Hom Karki

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई प्रमाणपत्रमा मात्र सीमित नराखी बजारको मागअनुसारको सिप र रोजगारीसँग जोड्नुपर्ने बताएका छन् ।

मन्त्री यादवले नेपालको प्रमुख चुनौती बेरोजगारी मात्र नभई बजारले खोजेको सिप र उत्पादन भइरहेको जनशक्तिबीचको अन्तर पनि रहेको बताए । ‘एकातिर युवाहरू रोजगारीको खोजीमा छन् र अर्कातिर उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता छ,’ भक्तपुरमा स्थापना गरिएको हिमालयन मल्टीस्किल प्रालिको आइतबार उद्घाटन गर्दै उनले भने, ‘आज हामी एउटा भवनको उद्घाटन मात्र गरिरहेका छैनौं, युवाको भविष्य निर्माण गर्ने र रोजगारीका नयाँ सम्भावना खोल्ने अभियानको सुरुवात पनि गरिरहेका छौं ।’

उनका अनुसार अबको प्राथमिकता बजारको मागअनुसार सिप, सिपअनुसार रोजगारी र रोजगारीबाट आत्मनिर्भरता हुनुपर्छ । ‘युवालाई तालिम र प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावहारिक सीप तथा रोजगारीका अवसर उपलब्ध गराउनुपर्नेछ,’ उनले भने, ‘यसका लागि सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक छ ।’

उनले युवालाई पनि सीप सिक्न नहिचकिचाउन आग्रह गर्दै इमानदार श्रमको कुनै काम सानो नहुने बताए । मन्त्री यादवले सरकारको लक्ष्य युवालाई विदेश जानबाट रोक्नु मात्र नभई नेपालमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नु पनि रहेको स्पष्ट पारे । वैदेशिक रोजगारीमा जाने युवालाई समेत दक्ष, सुरक्षित र मर्यादित श्रमिकका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।

मन्त्री यादवले सम्बन्धित तालिम केन्द्रले गुणस्तरीय तालिम प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

हिमालयन मल्टीस्किल प्रालिले ३६ प्रकारका ट्रेडमा सिप सिकाउने मान्यता पाएको छ । यहाँ एक सय ५० जनालाई आवासीय व्यवस्थासहित तालिम दिइनेछ । हिमालयनका अध्यक्ष खगेन्द्र न्यौपानेले अन्तर्राष्ट्रिय श्रम बजारमा मान्यता पाउने गरी सिपयुक्त जनशक्ति उत्पादन गरिने बताए । ‘अन्तर्राष्ट्रिय श्रम बजारलाई समेत ध्यान दिएर तालिम दिइनेछ । यसको मान्यता अन्तर्राष्ट्रिय स्तरमा नै हुनेछ,’ उनले भने ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026