युद्धग्रस्त देश रुसको सेना बन्न नेपाली युवाको मरिहत्ते

11 December, 2023

रुस–युक्रेन युद्ध निरन्तर छ, तर नेपाली युवाको रुस यात्रा रोकिएको छैन । गैरआवासीय नेपाली संघ रसियाका अध्यक्ष केशव तिमिल्सिनाका अनुसार हाल रुसमा अनुमानित २० हजार नेपाली छन् । नेपालीहरू श्रम, अध्ययन र व्यवसायका लागि रुस जान्छन् । पछिल्लो समय त युद्ध मैदानमा होमिनका लागि पनि जान थालेका छन् ।

आकर्षक तलब र त्यहाँको नागरिकता पाइने आसमा नेपाली युवा रुसी सेनामा होमिने क्रम बढेको छ । सरकारले युद्धग्रस्त मुलुकमा नजान सचेत गराउँदा–गराउँदै पनि युवाहरू त्यहाँ पुगेर बन्दुक बोक्ने उद्देश्यसहित दलाललाई लाखौँ रकम बुझाई अवैध रूपमा जाने गरेका छन् । पछिल्लो समय मात्रै रुसी सेनामा रहेका ६ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । रुसी सेनामा एक वर्ष काम गरेपछि त्यहाँको नागरिकता पाउने व्यवस्था छ । हजारभन्दा बढी नेपालीले रुसको नागरिकता लिइसकेका छन् । तर, रुसी सेनामा कति नेपाली छन् भन्ने यकिन नभएको तिमिल्सिनाले बताए ।

‘युद्धकै कारण रुस जाने नेपालीको संख्यामा कुनै कमी छैन, बरु रुसी सेनामा भर्ती हुने नेपाली युवा बढिरहेको देखिन्छ,’ तिमिल्सिनाले भने, ‘नेपालीले युरोप प्रवेशका लागि पनि रसियाको बाटो प्रयोग गर्ने गरेका छन् । त्यसका लागि भिजिट भिसामा जाने गर्छन् ।’ उनका अनुसार रुसमा नेपालीहरू सेनाबाहेक कम्पनी म्यानेजर, कुक, टुरिस्ट गाइड, वेटरलगायत पेसामा छन् ।

रुसका लागि नेपाली राजदूत डा. मिलनराज तुलाधरले त्यहाँ वर्किङ र स्टुडेन्ट भिसामा करिब हजार नेपाली रहेको अनुमन गरिए पनि कुन भिसामा कति रहेको, सेनामा कति रहेको भन्ने यकिन नभएको बताए । अहिले आफूहरू युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्तिका लागि प्रयासरत रहेको राजदूत तुलाधरले बताए ।

उता युक्रेनमा युद्ध सुरु हुनुभन्दा अघि अनुमानित ६ हजार नेपाली थिए । युद्धका वेला उनीहरू युरोपका विभिन्न मुलुक गएको गैरआवासीय नेपाली संघ रसियाका अध्यक्ष तिमिल्सिनाले बताए । उनका अनुसार हाल युक्रेनमै बिहेवारी गरेर बसेका दुई सय नेपाली रहेको अनुमान छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024