युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर छ : परराष्ट्रमन्त्री

7 April, 2026

परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको बताएका छन्।

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले मध्यपूर्वको युद्धका कारण कुनै नेपालीलाई समस्या परे स्वदेश फर्काउन सरकारले सहजीकरण लगायतका कामहरू गम्भीरतापूर्वक गरिरहेको बताए। उनले सहजीकरणका लागि ८८ हजारभन्दा बढीको नाम संकलन भएको जानकारी दिँदै तुरुन्त नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर आवश्यक काम गरिरहेको बताए।

अहिले युद्धका कारण नभइ नेपालीहरूको भिसा, कामको छुट्टी लगायतका नियमित किसिमका समस्याका कारणहरू देखिएको उनको भनाइ छ।

परराष्ट्रमन्त्री खनालले युद्धकै कारणले अथवा असुरक्षाको कारणले स्वदेश फर्कनुपर्ने दबाब नदेखिएको बताए। मध्यपूर्वको युद्धका कारण हालः पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकै कारण सार्वजनिक निकायमा छुट्टी दिने निर्णय भएको जानकारी दिँदै मन्त्री खनालले आगामी दिनमा देखिनसक्ने अन्य समस्याका बारेमा अध्ययन भइरहेको बताए।

उनले यस वर्ष मलखादको समस्या पनि देखिनसक्ने भएकाले पूर्व तयारीका लागि समेत सुझावका साथ प्रतिवेदन तयार पारेर मंगलबारसम्म मन्त्रिपरिषद्मा बुझाइने जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024