नेपाली दूतावासले रुस–युक्रेन तनावको पछिल्लो अवस्थालाई दृष्टिगत गर्दै नेपाली नागरिकलाई युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ।
दूतावासले अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म युक्रेन जाने योजना स्थगित गर्न अनुरोध गरेको हो। साथै, युक्रेनमा रहेका नेपाली नागरिकलाई यथाशीघ्र सुरक्षित रूपमा नेपाल फर्किन पनि आग्रह गरिएको छ।
सूचनामा भनिएको छ, ‘रुस तथा युक्रेनबीचको तनावको पछिल्लो घटनाक्रमलाई दृष्टिगत गर्दै कुनै पनि प्रयोजनका लागि युक्रेन भ्रमण गर्न लाग्नुभएका नेपाली नागरिकहरूलाई अर्को सूचना जारी नहुँदासम्मका लागि त्यस्तो भ्रमण स्थगित गर्नुहुन अनुरोध गरिन्छ।’
दूतावासले युक्रेनमा रहेका नेपालीलाई आवश्यक सहयोगका लागि सम्पर्कमा रहन पनि अनुरोध गरेको छ। सहयोग आवश्यक परेमा बर्लिनस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवलाई सम्पर्क गर्न सकिने जनाइएको छ।