युएई जाने युवाको लर्को

28 April, 2026

Sabita Khadka

नेपालबाट वैदेशिक रोजगारीका क्षेत्रमा यतिबेला संयुक्त अरब इमिरेट्स (युएई) जानेको लर्को चर्को भएको छ। चालु आर्थिक वर्षको (साउनदेखि चैत) नौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक युएई बनेको छ। नेपालीले रोजगारीका लागि रोज्ने देशहरूमा खाडी राष्ट्रमध्ये सबैभन्दा पहिलो युएई नै हो।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा एक लाख ३७ हजार आठ सय ९२ नेपालीले श्रम स्वीकृति लिएर युएई प्रस्थान गरेका छन्। यो तथ्यांक नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरूको एकमुष्ट संख्या हो। पछिल्ला महिनामा युएई पुनः नेपाली श्रमिकको पहिलो गन्तव्य बनेको छ । यस परिवर्तनका पछाडि श्रम बजारका संरचनागत कारणसँगै क्षेत्रीय अवस्थाले पनि भूमिका खेलेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार केही समय अघिसम्म मलेसियामा देखिएको ‘ग्याप’ (शून्य समय) प्रमुख कारणमध्ये एक हो। सो अवधिमा मलेसियाले विशेषगरी वृक्षरोपण क्षेत्रमा मात्र श्रमिक लिएको र अन्य क्षेत्रमा अवसर सीमित हुँदा धेरै नेपाली कामदार वैकल्पिक गन्तव्य खोज्दै युएईतर्फ मोडिएका थिए। अहिले मलेसियाले अन्य क्षेत्रमा पनि खुला गरे पनि त्यो अन्तरालले श्रमिकको धारणा र प्रवाह दुवैलाई युएईतर्फ धकेलेको उनी बताउँछन्।

‘देशभित्र पर्याप्त रोजगारीको अवसर नै नहुँदा ठुलो संख्यामा युवाहरू विदेश गएका छन्’, उनले भने, ‘बिदेसिँदै गर्दा युएई पहिलो श्रम गन्तव्य मुलुक बनेको हो। पहिलो श्रम गन्तव्य बन्नुको पछाडि केही मुख्य कारण छन्।’

उनी अघि थप्छन्, ‘पहिलो, रोजगारीका अवसरहरूको विविधता निर्माण, सेवा, सुरक्षा तथा सेवा, होटेल तथा रेस्टुरेन्ट, ड्राइभिङलगायत क्षेत्रमा निरन्तर माग भएकै कारण नेपाली युवा त्यहाँ पुग्ने गरेका छन्।’

साथै तुलनात्मक रूपमा सहज भिसा प्रक्रिया र छिटो श्रम स्वीकृति भएकाले नेपालीको मन युएईतिर मोडिएको उनले नागरिकलाई सुनाए।

उनका अनुसार अधिक तलब र ओभरटाइमको अवसर भएसँगै विशेषगरी सिप भएका दक्ष कामदारका लागि अझै राम्रो छ। त्यति मात्रै नभएर पहिले गएका नेपालीहरूको सञ्जाल (नेटवर्क) जसले नयाँ कामदारलाई रोजगारी पाउन र बसोबासमा सहयोग पुर्‍याउने उनी बताउँछन्।

युएईका प्रमुख सहर दुबई र अबुधाबीमा तीव्र सहरीकरण, पूर्वाधार विस्तार र पर्यटन उद्योगको वृद्धिले श्रमिकको माग उच्च बनाएको छ। साथै युएईलाई धेरैले ‘ट्रान्जिट हब’ का रूपमा पनि हेर्ने गरेका छन्। त्यहाँबाट अन्य मुलुकतर्फ जान तुलनात्मक रूपमा सहज प्रक्रिया, विशेषगरी ई–भिसा प्रणाली, उपलब्ध हुँदा केही श्रमिकले युएईलाई पहिलो चरणको गन्तव्यका रूपमा प्रयोग गर्ने प्रवृत्ति पनि देखिएको अधिकारीहरू बताउँछन्।

युएईमा नेपाली पुरुष मात्र होइन, महिलाको सहभागिता पनि उत्तिकै छ। पुरुषहरू प्रायः निर्माण कार्य, सुरक्षा गार्ड, ड्राइभर, होटेल–रेस्टुरेन्ट तथा टेक्निकल काममा संलग्न हुन्छन् भने महिला घरेलु काम, होटेल तथा रेस्टुरेन्ट सरसफाइ सेवा र केयरगिभर जस्ता क्षेत्रमा रोजगारी पाउने गरेका छन्। महिला म्यानपावरमार्फत नभई व्यक्तिगत प्रयासमा पनि विदेश जाने गरेका छन्।

वैदेशिक रोजगारविज्ञ गणेश गुरुङका अनुसार युएई एक समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मध्यपूर्वको व्यापार केन्द्र पनि हो। त्यसैले युएई सबैभन्दा धेरै नेपाली जाने गरेका छन्। दुबईमा उच्च जनसंख्या वृद्धिदरका लागि धेरै कारक छन्, तीमध्ये सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी दृष्टिकोण हो; जसका कारण धेरै विदेशी नागरिक यस क्षेत्रमा बसोबास गर्ने क्रम बढ्दै गएको उनी बताउँछन्।

‘नेपाली आप्रवासीले काम गर्न र बस्न रोज्ने पाँच प्रमुख गन्तव्य देशमध्ये युएई एक हो’, उनले भने, ‘अहिले खाडी मुलुकमध्ये युएई वैदेशिक रोजगारीको पहिलो गन्तव्यका रूपमा रहेको छ।’

वैदेशिक रोजगारीका लागि व्यवस्थित, सुरक्षित र मर्यादित गन्तव्य मुलुकलाई मध्यनजर गर्दै आफ्नो परिवारसहित प्रायः नेपाली युवा युएई जाने गरेको उनले नागरिकसँग बताए।

विभागको तथ्यांकअनुसार सबैभन्दा बढी नेपाली मधेसबाट युएई बिदेसिएका छन्। मधेसका युवा गाउँका एजेन्ट र म्यानपावर कम्पनीका भरमा विदेश पुगेका हुन्छन्। अहिले युवाहरूको प्रमुख गन्तव्य मुलुक युएई, साउदी अरेबिया, कतार, मलेसियाजस्ता देश रहेको विभागको तथ्यांकबाट प्रस्ट हुन्छ।

विभागको तथ्यांकअनुसार चालु आव २०८२/८३ को साउनमा श्रम स्वीकृति लिएर युएई जाने नेपालीको संख्या २३ हजार आठ सय ३८ रहेको छ। त्यस्तै भदौमा २५ हजार दुई सय १८, असोजमा १८ हजार चार सय ४६, कात्तिकमा १३ हजार तीन सय ९९, मंसिरमा नौ हजार तीन सय ८२, पुसमा नौ हजार पाँच सय १७, माघमा १५ हजार एक सय ३७, फागुनमा ११ हजार चार सय ९२ र चैतमा ११ हजार चार सय ६३ नेपाली रोजगारीका लागि श्रम स्वीकृति गरी युएई गएको विभागको तथ्यांक हो। साथै, युएईमा काम गर्नेहरूले पठाउने रेमिट्यान्स (विप्रेषण) नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण आधार भएकाले पनि यो गन्तव्य लोकप्रिय बनेको छ।

अहिले युएई, साउदी अरेबिया, मलेसिया, कतार, कुबेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य बनेका छन्। युरोपको विकसित देशमा छिर्ने बाटो खोजिरहेका युवाहरू क्रोएसिया, पोल्यान्ड, रोमानियाजस्ता देशमा पनि जान थालेका छन् । यसले नेपालीको श्रम गन्तव्य फेरिन सक्ने भए पनि बिदेसिनैपर्ने आम मानिसको नियति भने नफेरिने संकेत देखिएको छ।

विभागको तथ्यांकअनुसार चालु आव २०८२/८३ को (साउनदेखि चैत) नौ महिनामा वैदेशिक रोजगारीका लागि पाँच लाख ८७ हजार तीन सय ४० जनाले श्रम स्वीकृति लिएका छन्। गत आव २०८१/८२ मा रोजगारीका लागि विभिन्न देश जाने युवाको संख्या आठ लाख ३९ हजार दुई सय ६६ रहेको थियो। गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर विदेश गएका थिए। सरकारले भारत जानेलाई श्रम स्वीकृति लिनुपर्ने व्यवस्था नगरेकाले रोजगारीका लागि परदेश पुग्ने सबै तथ्यांकमा समेटिएका छैनन्।

समग्रमा रोजगारीका अवसर, तुलनात्मक स्थायित्व, सहज प्रक्रिया र राम्रो आम्दानीका कारण युएई नेपाली श्रमिकको पहिलो रोजाइ भएको हो। क्षेत्रीय द्वन्द्वले केही अनिश्चितता थपे पनि दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित श्रम बजार भएका मुलुकतर्फ नेपाली श्रमिकको आकर्षण बढ्ने देखिन्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024