युएईमा इरानको आक्रमणमा परेर गोरखाका दिवस श्रेष्ठको निधन

3 March, 2026

इरानले यूएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी गोरखाका दिवस श्रेष्ठको निधन भएको छ। नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन्। संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत २९ वर्षीय नेपाली नागरिक दिवस श्रेष्ठको निधन भएको नेपाली राजदूतावास, अबुधाबीले जनाएको छ।

उनी गोरखा भिमसेन थापा गाउँपालिका- ७ ठाँटीका हुन्।

युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त दिएको राजदूतावासको शोक विज्ञप्तिमा उल्लेख छ। दूताबासले परिस्थिति सहज भएपश्चात स्व. श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न नेपाली राजदूतावास तत्पर रहेको जनाएको छ।

‘यस संवेदनशील परिस्थितिमा युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन तथा युएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरु पूर्णरुपमा पालना गर्न समेत दूतावास हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

युएईको रक्षा मन्त्रालयका अनुसार एक नेपालीसहित ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपालीसहित पाकिस्तानी र बंगलादेशी नागरिक रहेका छन्। त्यस्तै इमिराती, इजिप्टियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमनी, युगान्डाली, इरिट्रियन, लेबनानी र अफगान नागरिक गरी ५८ जना सामान्य घाइते भएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024