म्यानमारको म्यावाडी क्षेत्रबाट उद्धार गरिएका ४७ जना नेपाली श्रमिक बुधबार साँझ काठमाडौं आइपुगेका छन् । उनीहरूलाई म्यानमारको सेनाले म्यावडीस्थित श्वे कोक्को र केके पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएको अवस्थामा उद्धार गरिएको थियो ।
थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ४०२ मार्फत नेपाल पठाएको हो । दूतावासले मंगलबार थाइल्यान्डको टाक प्रान्तस्थित मेसोट अध्यागमन कार्यालयबाट उनीहरूको जिम्मा लिई बैंकक लिएर आएको थियो । नेपालीलाई लिन दूतावासको टोली थाइल्यान्ड–म्यानमार सीमा क्षेत्रमा पुगेको थियो ।
उद्धार गरिएका व्यक्तिमध्ये २६ जिल्लाका ४७ जना रहेका छन् जसमध्ये ४५ जना पुरुष तथा २ जना महिला छन्।
उद्धार गरिएका व्यक्तिहरूले विभिन्न व्यक्ति, साथीभाइ तथा अनलाइन साथी, अनलाइन पबजी लगायतको गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापनबाट सम्पर्क गरी म्यानमार पुगेको बताएका छन् । भारतमा अध्ययन गर्दाको साथी मार्फत, कनै दुबईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएको साथीमार्फत समेत त्यहाँ पुगेका छन्। ह्वाट्सएप, भाइबर, मेसेन्जर, टिकटक, टेलिग्राम लगायतका सामाजिक सञ्जालबाट काठमाडौंमा घण्टाको यति कमाइन्छ भनी रोजगारीको प्रस्ताव आउने, त्यसमा रेस्पोन्स गरेपछि थप सम्पर्क हुँदै जाने र केही समय पछि भ्रमणको लागि आकर्षित मानिने मुलुकमा अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसिप्सनिस्ट आदिको काम छ, एक लाखभन्दा बढी तलबहुन्छ भनी प्रलोभनमा पार्ने गरेको देखिएको छ। त्यसरी प्रलोभनमा पारेपछि विभिन्न माध्यमबाट स्क्यामिङ्ग केन्द्रहरूमा पुराएको देखिएको नेपाली दूतावासले जनाएको छ ।
धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सबैमा पुनः अनुरोध गरेको छ ।