म्यानपावरले विज्ञापन निकालेको सात दिनपछि मात्रै कामदार छनोट गर्न पाउने

10 August, 2026

म्यानपावर कम्पनीहरूले वैदेशिक रोजगारीका लागि कामदार मागसम्बन्धी विज्ञापन प्रकाशित गरेको सात दिन पूरा नभएसम्म श्रमिक छनोट गर्न नपाउने भएका छन्।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको हो।

विभागले सूचना जारी गर्दै विज्ञापन प्रकाशित भएपछि कम्तीमा सात दिनसम्म आएका सबै आवेदन संकलन गर्न र सात दिनको अवधि पूरा भएपछि मात्रै आवेदकमध्येबाट श्रमिक छनोट प्रक्रिया अघि बढाउन भनेको छ।

विभागका अनुसार केही म्यानपावर कम्पनीले सात दिनको समय तोकेर विज्ञापन प्रकाशित गरे पनि उक्त अवधि पूरा नहुँदै कोटा सकिएको भन्दै इच्छुक कामदारलाई आवेदन दिनबाटै वञ्चित गर्ने गरेको गुनासो बढेका कारण यस्तो व्यवस्था गरिएको विभागको भनाइ छ।

‘कोटा पूरा भइसकेको’ भन्दै विज्ञापनको म्याद नसकिँदै आवेदन लिन बन्द गर्ने प्रवृत्तिका कारण रोजगारीको अवसरबाट इच्छुक कामदार वञ्चित हुने अवस्था देखिएपछि विभागले यस्तो निर्देशन दिएको हो।

अब म्यानपावर कम्पनीले विज्ञापनमा तोकिएको सात दिनको अवधिभर प्राप्त भएका सबै आवेदन संकलन गर्नुपर्नेछ।

त्यसपछि मात्रै प्राप्त आवेदनमध्येबाट तोकिएको प्रक्रिया पूरा गरी श्रमिक छनोट गर्नुपर्ने विभागले जनाएको हो।

छनोट भएका उम्मेदवारको नामावलीसमेत सम्बन्धित म्यानपावर कम्पनीको वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।

विभागले वैदेशिक रोजगारसम्बन्धी व्यवस्था र श्रमिक छनोट प्रक्रियालाई पारदर्शी बनाउन यस्तो व्यवस्था गर्ने भएको उल्लेख छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024