वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजतपत्र कम्पनी (म्यानपावर)ले अब रोजगारीको विज्ञापन (सूचना) प्रकाशित गरेको कम्तीमा सात दिनपछि मात्रै श्रमिक छनोट प्रक्रिया सुरु गर्नुपर्ने भएको छ ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ मा भएको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको हो ।
विभागका अनुसार कतिपय कम्पनीले सात दिनको म्याद दिएर सूचना प्रकाशित गरे पनि म्याद नसकिँदै कोटा सकिएको भन्दै इच्छुक कामदारलाई निवेदन दिनबाटै वञ्चित गरेको गुनासो बढेपछि विभागले स्पष्ट निर्देशन जारी गरेको हो ।
म्यानपावर कम्पनीले विज्ञापन प्रकाशित गरेपछि सात दिनसम्म आएका सबै निवेदन संकलन गर्नुपर्ने र सातौं दिनपछि मात्र प्राप्त आवेदकमध्येबाट छनोट प्रक्रिया सुरु गर्नुपर्ने उल्लेख गरिएको छ । छनोट गरिएका उम्मेदवारको सूची कम्पनीको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने तथा छनोट प्रक्रियामा सहभागी भएका सबै आवेदकलाई समेट्नुपर्ने पनि विभागले जनाएको छ ।
यस्तै, छनोटमा नपरेका आवेदकलाई किन छनोट हुन नसकेको हो भन्ने कारणसहित जानकारी दिनुपर्ने व्यवस्था अनिवार्य रूपमा पालना गर्न विभागले निर्देशन दिएको छ ।
वैदेशिक रोजगार ऐनको दफा १६ अनुसार इजाजतपत्रवालाले कामदार छनोटका लागि कम्तीमा सात दिनको अवधि दिई राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नै वेबसाइटमा विज्ञापन प्रकाशित गर्नुपर्ने व्यवस्था छ । विभागले उक्त कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी र समान अवसर सुनिश्चित गर्न निर्देशन जारी गरेको जनाएको छ ।