म्यानपावरमा छापा हानेर ४ सय ३७ पासपोर्ट र ७ लाख ९० हजार नगद जफत

11 May, 2026

श्रम मन्त्रालयले श्रमिकको उजुरीका आधारमा जावलाखेलको मून म्यानपावरमा छापा हानेको छ । मलेसियाको रोजगारीमा पठाइदिने भनेर चर्को रकम असुली गरेको उजुरी परेपछि प्रहरीसँगको संयुक्त अनुगमनमा सो म्यानपावरबाट चार सय ३७ थान विभिन्न श्रमिकको पासपोर्ट र ७ लाख ९० हजार रुपैयाँ नगद जफत भएको श्रममन्त्री रामजी यादवको स्वकीय सचिव सरोज यादवले जानकारी दिए ।

‘श्रमिकबाट चर्को रकम असुलेर बिदेश पठाउन लागेको उजुरी आएपछि म्यानपावरमा छापा हानिएको थियो । त्यसक्रममा पासपोर्ट र नगद जफत भएको छ’ उनले भने, ‘नगदको स्रोत खुलेको छैन । श्रमिकबाट असुलेको बिल पनि भेटिएको छैन ।’ उनका अनुसार म्यानपावर सिल गरेर अनुगमन टोली फर्केको छ । अब श्रम ऐनअनुसार छानबिन प्रकृया अघि बढाएर दोषी भेटिए आवश्यक कारबाही गर्ने उनले बताए ।

बिहिबार दिउँसो मात्रै संसद्को उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद्हरुले बैदेशिक रोजगारीमा जाने श्रमिकबाट म्यानपावरले चर्को रकम असुल्ने भएकाले कारबाही थाल्न मन्त्री यादवलाई सुझाव दिएका थिए ।

सांसद्हरुले फ्रि भिसा, फ्रि टिकटको नीति कार्यान्वयन गर्न नसक्ने भए खारेज गर्नुपर्ने, नत्र व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका थिए । मन्त्री यादवले पनि श्रमिकलाई ठग्ने बिरुद्ध कारबाहीमा उत्रने बताएका थिए । लगत्तै, मन्त्रालयले ठगी गर्ने म्यानपावर बिरुद्ध कारबाही शुरु गरेको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024