मृत्युदण्ड सुनाइएका नेपालीलाई दूतावासले भेट्यो

24 November, 2011

दिनेश रेग्मी

साउदी अरबमा एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा त्यहाँको अदालतले मृत्युदण्ड सुनाएका नेपाली उमेश यादवलाई बुधबार साउदीस्थित नेपाली दूतावासका कर्मचारीले भेटेर विवरण लिएका छन्् ।

धनुषाको माझिझिटकैया-४ का ३१ वषर्ीय यादव काममा आएको दुई महिनामै हत्या र चोरी अभियोगमा ५ वर्षअघि जेल परेको उनलाई भेटेका दूतावासका द्वितीय सचिव सागरप्रसाद फुयालले बताए । 

 

काठमाडौंको सुवास मेनपावर कम्पनीमार्फत साउदी पुगेका उनी ‘साउदी बिनलादेन कम्पनी’ मा निर्माण मजदुरका रूपमा कार्यरत थिए । उनले अदालतले मृत्युदण्डको फैसला गरेको समेत थाहा नपाएको फुयालले बताए । ‘यादवलाई उनका साथीहरूले यस्तो मुद्दामा मृत्युदण्ड हुन सक्नेचाहिँ भनेका रहेछन्,’ उनले भने, ‘निराशाले होस हवास उडेजस्तो गरी बसेका छन्् । निराश नहुनु, हामी हिम्मतसाथ लडेर ज्यान बचाउँछौं भनेर आश्वस्त पारेका छौं ।’ यादव राजधानी रियादबाट करिब ५ सय किलोमिटर पूर्वको जुबेल कारागारमा छन्् ।

 

साउदीको विदेश मन्त्रालयले गम्भीर मुद्दामा परेका नेपालीबारे दूतावासलाई जानकारी दिने क्रममा गत साता उनलाई मृत्युदण्डको फैसला भएको थाहा भएको हो । विदेश मन्त्रालयको पत्रमा अन्य जानकारी नभएकाले राजदूत उदयराज पाण्डेले कारागार र पाकिस्तानी दूतावासबाट जानकारी लिएर उनको जीवनरक्षा गर्ने कान्तिपुरलाई बताएका थिए । यादवमाथिको अभियोगबारे दूतावासमा कुनै जानकारी नभएपछि कर्मचारी बुझ्नका लागि कारागार पुगेका हुन् । ‘मैले दूतावासका पहिलाका कर्मचारीलाई फोनमा पटक-पटक भनेको हुँ भनेर यादव भन्छन््, तर दूतावासमा कुनै नै रेकर्ड छैन,’ फुयालले भने, ‘परिवारले पनि दूतावासमा सम्पर्क गरेको छैन र दूतावासमा पनि रेकर्ड नभएपछि समस्या परेको छ ।’

 

यादवको घरमा बुबा, आमा, श्रीमती र २ छोरा छन्् । उनले घरमा पछिल्लो ७ महिनादेखि सम्पर्क नभएको सुनाएका थिए । दूतावासले यादवलाई सुनाइएको फैसलाबारे अझै विस्तृत विवरण प्राप्त भइनसकेको जनाएको छ । 

 

दूतावासले साउदीको विदेश मन्त्रालयलाई पत्र लेखेर मृतकका परिवारसँग सम्पर्क गर्न लागेकाले यादवको मृत्युदण्ड प्रक्रियालाई अघि नबढाउन आग्रह गर्ने जनाएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026