मुगुका विभिन्न स्थानबाट रोजगारीका लागि रसुवा पुगेका १० जना नागरिक सम्पर्कविहीन भएपछि उनीहरूका परिवार चिन्तित बनेका छन्। कामको सिलसिलामा रसुवा पुगेका उनीहरूसँग पछिल्लो समय सम्पर्क हुन नसकेको भन्दै परिवारजनले खोजी तथा उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा उपलब्ध विवरण अनुसार सुरुमा ८ जना सम्पर्कविहीन भएको बताइएको भए पनि खत्याड गाउँपालिका–८ का २२ वर्षीय लोकेन्द्र सार्की र सोही ठाउँकी २६ वर्षीया पुष्पा सार्की पनि रसुवा पुगेपछि सम्पर्कविहीन भएका हुन्। विभिन्न कामको सिलसिलामा मुगुबाट रसुवा पुगेका १० जना हाल सम्पर्कविहीन रहेको आफन्तहरूले बताएका छन्।
सम्पर्कविहीन हुनेहरूमा मुगु सोरु गाउँपालिका–१ धुपीका ४२ वर्षीय धनबहादुर मल्ल र सोही वडाको जवलधरताका २५ वर्षीय हिक्मत मल्ल रहेका छन्। उनीहरू दुवै जना रसुवा भन्सारमा काम गर्दै आएको बताइएको छ।
त्यस्तै, छायाँनाथ रारा नगरपालिका–१० गट्टेलेखका २६ वर्षीय पृथ्वी सेजुवाल, २५ वर्षीय शिवराज सेजुवाल र २२ वर्षीय लालबहादुर सेजुवाल रसुवा हाइड्रोपावरमा काम गर्दै आएका थिए। उनीहरूसँग पनि हालसम्म सम्पर्क हुन नसकेको विवरणमा उल्लेख छ।
यसैगरी सोरु गाउँपालिका–१० का २४ वर्षीय पर्मराज जैसी रसुवा भन्सारमा काम गर्ने, सोही ठाउँकी २५ वर्षीया सकुन्तला जैसी (रसुवामा कोठा भाडामा लिएर बस्दै आएकी) र उनका ४ वर्षीय छोरा छिप्पन जैसी पनि सम्पर्कविहीन छन्।
सम्पर्कविहीन भएका व्यक्तिहरू कहाँ छन् र कुन अवस्थामा छन् भन्नेबारे यकिन जानकारी नहुँदा परिवारमा थप चिन्ता बढेको छ। परिवारजनले सम्बन्धित निकायलाई उनीहरूको शीघ्र खोजी गरी वास्तविक अवस्थाबारे जानकारी गराइदिन आग्रह गरेका छन्।