श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको मापदण्डमा पर्ने सबै स्वास्थ्य संस्थालाई श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकृत गर्ने भएको छ । मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न चाहने अस्पतालसहितका स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेसँगै यस्तो जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले भने ‘अस्पतालसहितका स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेका छौँ, निवेदन दिनेमध्ये मापदण्डमा पर्ने सबैलाई अनुमति दिएपछि श्रमिकले पायक पर्ने ठाउँमा गएर स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था रहन्छ ।’
श्रममन्त्री दीपक साहले १७ चैतमा वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा भइरहेको सिन्डिकेट तोड्ने निर्णय गरेका थिए । लगत्तै मन्त्रालयले सबै स्वास्थ्य संस्थाबाट निरोगिताको प्रमाणपत्र लिन सक्ने व्यवस्था कार्यान्वयनका लागि सोमबार सूचना प्रकाशित गरेको हो ।
त्यस्तै, वैदेशिक रोजगार नियमावली, २०६४ मा ‘नेपाल सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट गराउन यस नियममा भएको व्यवस्थाले बाधा पुगेको मानिनेछैन,’ भन्ने व्यवस्थालाई पनि आधार मानेर मन्त्री साहले निर्णय गरेका थिए । सोही निर्णयअनुसार अस्पताललाई सूचीकृतका लागि आह्वान गरेको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए ।
‘अस्पतालसहितका स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेका छौँ,’ उनले भने, ‘निवेदन दिनेमध्ये मापदण्डमा पर्ने सबैलाई अनुमति दिएपछि श्रमिकले पायक पर्ने ठाउँमा गएर स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था रहन्छ ।’