मानव बेचबिखन गरेको आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ

2 February, 2023

मानव बेचबिखन गरेको आरोपमा दुई जना म्यानपावर एजेन्ट पक्राउ परेका छन्। कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको एसपी दानबहादुर मल्लले जानकारी दिए।

उदयपुर घर भई टोखा नगरपालिका-३ स्थित डेराबाट ४४ वर्षीय रवि थापा मगर र इलाम घर भई काठमाडौं-९ शम्भुमार्गस्थित न्यू लक्ष्मीमार्ग गेष्ट हाउसबाट ४१ वर्षीय डम्बर मगरलाई ब्युरोले पक्राउ गरेको हो।

पीडितलाई उनीहरूले कुवेतको रोयल रेष्टुरेन्ट वेट्रेसको काममा मासिक पारिश्रमिक १२० कुवेती दिनार हुने प्रलोभन देखाएका थिए। रेष्टुरेन्टमा काम सकाएर पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा पनि पठाइदिने प्रलोभन देखाएको एसपी मल्लले बताए।

उनका अनुसार पीडितलाई २०७१ मंसिर २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएका थिए।

त्यहाँ पुर्‍याएर अर्का एजेन्टमार्फत १३०० कुवेती दिनारमा पीडितलाई बिक्री गरेको ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए।

‘बिक्री गरी दैनिक १८ घण्टा सम्म काममा लगाएर श्रम शोषण गरेका थिए,’ उनले भने, ‘लामो समय शोषणमा परेपछि पीडितले नेपालमा रहेका आफन्तलाई उद्धार गर्न अपिल गरेका थिए।’

उनका अनुसार आफन्त प्रहरीको सम्पर्कमा आएपछि ब्‍युरोले कुवेतमा रहेको नेपाली राजदूतावाससँग समन्वय गरेको थियो।

समन्वय गरी पीडितलाई गत माघ ४ गते कुवेतबाट उद्धार गरी नेपाल फिर्ता ल्याइएको थियो।

नेपाल फिर्ता आएपछि पीडितले एजेन्टहरूविरूद्ध माघ १० गते जाहेरी दिएका थिए। अहिले उनीहरूविरूद्ध मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ बमोजिम अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पीडितलाई १८ घन्टा काममा लगाएर शारीरिक तथा मानसिक यातना दिएको पाइएको छ।

यस्तै कुवेतमा रहेका प्रतिवादीले पीडितको मोबाइल समेत नियन्त्रणमा लिएको एसएसपी श्रेष्ठले बताए। त्यसरी उनको फेसबुक लगायत सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूसँग अश्लिल कुराकानी समेत गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

त्यसको रेकर्ड पीडितका श्रीमान तथा आफन्तलाई पठाइदिने भन्दै धम्क्याएर राखेका थिए। त्यही प्रतिवादीले जबरजस्ती पीडितको भिडिओ समेत बनाएको देखिन्छ।

‘आफू राजीखुसी कुवेतमा आएकी हुँ। बेचबिखनमा परेको छैन, नेपालमा फर्किएर पनि कसैलाई उजुरी गर्दिनँ भन्न लगाएर भिडिओ बनाउन लगाएको पायौं,’ उनले भने। यस घटनामा संलग्न अरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024