मानव तस्करी रोक्न परराष्ट्रलाई निर्देशन

30 January, 2015

संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले ६ महिनादेखि दुई वर्ष लगाएर जहाज तथा सडक मार्गको उपयोग गरी १७/१८ मुलुकमा जोखिमपूर्ण यात्रा गर्दै नेपाली युवालाई अमेरिका पुर्‍याउने कार्य रोक्न संसदको परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । 

वर्षौं लगाएर नेपालीहरू लाखौं पैसा खर्चेर डुंगा, पानीजहाज, ट्रक, रेल, पैदल, तेलको टयांकर, मालवाहक सवारीबाट विभिन्न मुलुक हुँदै अमेरिका जाने गरेका छन् । यात्राका क्रममा कतिपयको अमेरिका नपुग्दै मृत्युसमेत हुने गरेको भन्दै यसमा गम्भीर हुन समितिले मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले ल्याटिन अमेरिका हुँदै संयुक्त राज्य अमेरिकासम्म गरिने मानव तस्करीबाट प्रभावित नेपालीको अवस्थाबारे जानकारीका लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र कामु सचिव शंकरदास मैनालीलाई समितिमा बिहीबार बोलाएको थियो ।

अमेरिका पुग्ने सपना बोकेर ल्याटिन अमेरिका हुँदै गैरकानुनी बाटोबाट तस्करीमा लगिएका धेरै नेपाली युवा विभिन्न देशका कारागारमा रहेको र बाटामै कतिपयको मृत्यु हुने गरेको सूचना पाएपछि उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी गराउन र सत्य तथ्य खोज्न समेत समितिले मन्त्रालयलाई भनेको छ ।

मानव तस्कर र तिनका दलालहरूले काठमाडौंबाट दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्‍याउने गरेका छन् । २० लाखमै अमेरिका पुर्‍याउने सपना बाँड्ने र बीचमा अलपत्र पार्दै घरबाट फेरि रकम माग्न लगाउने उनीहरूको नियत र शैली रहेको पनि समितिले उल्लेख गरेको छ । 

अमेरिका पुग्ने सपनामा एक नेपालीले ४० देखि ५० लाखसम्म बुझाउने गर्छन् । दलालहरूले नेपालदेखि ब्राजिलसम्म २२ लाख र ब्राजिलपछि मुलुकैपिच्छे फरक/फरक रकम लिने गरेका छन् । काठमाडौंबाट हवाईजहाजमार्फत विभिन्न मुलुक हुँदै बोलिभियासम्म र बोलिभियादेखि मेक्सिकोसम्म सडकमार्गबाट उनीहरूलाई पुर्‍याउने गरिन्छ । 

मानवअधिकारवादी संस्था ‘नो मोर डेथ’ को तथ्यांकअनुसार सन् २००० यता ब्राजिलदेखि मेक्सिकोसम्म अमेरिका हिँडेका तर पहिचान नखुलेका २ हजार ६ सय ४९ जनाको शव भेटिएको छ । यसरी भेटिएका शव एक महिनाभित्र कसैले नबुझेमा त्यतै गाडिन्छ । ‘तीमध्ये कति नेपाली होलान् भन्ने पत्ता लगाउन गाह्रो रहेछ,’ समितिका सभापति सुशीलकुमार श्रेष्ठले भने, ‘कुनै एउटा देशको टुरिस्ट भिसा लगाएर हिँडेको नेपालीले विभिन्न बाटो हुँदै बोलिभिया पुगेपछि पासपोर्टलगायत आवश्यक कागजात च्यातेर फाल्नुपर्ने रहेछ ।’ 

उनका अनुसार कुनै पहिचान नखुल्ने हिसाबले विभिन्न मुलुक छिर्ने भएकाले यकिन तथ्यांक पाउन गाह्रो छ । यात्राको अवधिभर प्राय: घरपरिवारसँग टेलिफोन सम्पर्क नहुने भएकाले आफ्नो परिवारको सदस्य कहाँ पुगिरहेको छ, मर्‍यो कि बाँच्यो भन्नेसम्म थाहा नहुने अवस्था रहेको जानकारी आफूहरूले पाएको परराष्ट्रमन्त्रीलाई उनीहरूले सुनाएका थिए । ०७० जेठमा कोलम्बियामा २ र पानामा १ नेपालीको मृत्यु भएको तथ्यांक छ । दुई वर्षअघिको बोलिभियाली अध्यागमनको तथ्यांकअनुसार दुई महिनाको अवधिमा मात्रै ५ सय नेपाली युवा तस्करीमा परी अमेरिका छिरेका थिए । 

अमेरिकाको यूएस डिपार्टमेन्ट फर होमल्यान्ड सेक्युरिटीको तथ्यांकअनुसार सन् २००४ देखि सन् २०१३ सम्म १ हजार ५ सय ४१ नेपाली गैरकानुनीरूपमा अमेरिका पुगेका छन् । ९ वर्षको अवधिमा यी नेपालीहरू मानव तस्करको सहायताबाट अमेरिका छिरेका हुन् । 

यकिन तथ्यांक छैन : मन्त्री पाण्डे  परराष्ट्र्रमन्त्री पाण्डेले नेपालबाहिर विभिन्न मुलुकबाट कति नेपाली जान्छन् भन्ने आफूहरूसँग यकिन तथ्यांक नभएको बताए । अमेरिकी सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको आधिकारिक दस्तावेजमा उल्लेख भएअनुसार नेपालमा मानव तस्करी गर्ने सबैभन्दा ठूलो गिरोह ल्याटिन अमेरिकामा सक्रिय रहेको उनले बताए । उनले मानव तस्करीको गिरोहलाई रोक्न युरोपको स्पेन र ल्याटिन अमेरिकाको मेक्सिकोमा नेपालको दूतावास वा कुनै मिसन राख्ने तयारीअनुरूप काम भइरहेको जानकारी पनि दिए । 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024