मलेसिया रोजगारीमा सिन्डिकेट तोड्न प्रधानमन्त्रीको टेलिफोन वार्ता 

23 September, 2026

मलेसियामा वैदेशिक रोजगारीका लागि सीमित म्यानपावरबाट मात्रै नेपाली श्रमिक आपूर्ति गर्ने नीति जारी भएकोप्रति प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् । मंगलबार बिहान भएको वार्तामा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबिच वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल गरेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपरेको विषय मलेसियाली समकक्षीसँग स्पष्ट रूपमा राखेको पनि सचिवालयको प्रेसनोटमा उल्लेख छ । प्रधानमन्त्री शाहले व्यक्त गरेको धारणालाई सकारात्मक रूपमा लिई मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको बताएका थिए । उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

दुवै देशका प्रधानमन्त्रीस्तरमा भएको छलफलबाट म्यानपावर व्यवसायी भने उत्साहित छन् । वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष डिकबहादुर खत्रीले प्रधानमन्त्रीस्तरमा भएको छलफलले निकै खुसी दिएको बताए । उनले भने, ‘श्रम सम्झौताका सबै बुँदालाई पालना गर्नु दुवै देशको दायित्व भएको कुरा पनि स्मरण गराउन चाहन्छु ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024