मलेसियाले विदेशी कामदारको निर्भरता घटाउने

24 May, 2018

स्रोत मुलुकसँगका सम्झौता पुनरावलोकनको तयारी  

मलेसियाले रोजगारीका क्षेत्रमा विदेशी कामदारको निर्भरता घटाउने जनाएको छ । उसले ती क्षेत्रमा स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकता दिने र त्यसपछि मात्र विदेशी कामदारलाई लिन सकिने जनाएको छ । 

दुई साताअघि गठित नयाँ सरकारका मानव संसाधन मन्त्रीले विदेशी कामदार पठाउने स्रोत मुलुकसँगका सम्झौतासमेत पुनरावलोकन गरिने बताए । यद्यपि, विदेशी कामदारको निर्भरता घटाउने मलेसियाली सरकारको यो योजना भने नयाँ होइन ।

 

मुलुकमा रहेका आप्रवासी कामदारको व्यवस्थापन गर्न र गैरकानुनी आप्रवासी कामदार हटाउन यसअघि पनि पटक–पटक अवसरयुक्त कार्यक्रम सञ्चालन गरिएको थियो । तर ती कार्यक्रम अपेक्षाअनुसार सफल हुन सकेका छैनन् ।

 

मलेसियाली मानव संसाधनमन्त्री एम कुलसेगरनको भनाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्, ‘हामी आवश्यकताअनुसार विदेशी कामदारलाई अनुमति दिन्छौं तर पहिलो प्राथमिकता स्थानीय जनशक्तिलाई नै दिइनेछ ।’

 

उनले गत सन् २०१६ मा बंगलादेशसँग १५ लाख कामदार लिनेबारे भएको लगायत सम्झौता पनि पुनरावलोकन गरिने बताएका छन् । यसअघि नाजीव रजाक नेतृत्वको सरकारले १५ लाख बंगलादेशी कामदार ल्याउने निर्णय गरेको थियो ।

 

तर उक्त कदमको आलोचना भएपछि तत्कालीन सरकारले उक्त निर्णय रोकेको थियो ।मन्त्री कुलसेगरनले कामदारको मासिक न्यूनतम पारिश्रमिक एक हजार रिंगिटबाट वृद्धि गरेर १५ सय रिंगिट बनाउनेबारे छलफल भइरहेको बताएका छन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026