मलेसियामा सप्तरीका २१ वर्षिय युवकको मृत्यु

4 May, 2020

सप्तरीबाट रोजगारीको सिलसिलामा मलेसिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षिय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी  दिए।

परियोजना संयोजक यादवका अनुसार मलेसियाको सलेङ्गर जिल्लास्थित आई ४१२ कम्पनीमा कार्यरत मण्डल शनिबार खाना खाने क्रममा अचानक बेहोस भई ढलेका थिए।

उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको थियो। उनी तीन वर्षदेखि मलेसियामा कार्यरत थिए । 

चार दिनअगाडि मात्रै मलेसियामै सप्तरीको बलान बिहुल गाउँपालिका–२ मलहनियाँ निवासी इन्दल यादवले आत्महत्या गरेका थिए। यादव तीन महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।

यस्तै डेढ महिनाअघि सप्तरीको राजविराज–१० बिरौल निवासी २५ वर्षीय विष्णुदेव मण्डलको पनि मलेसियामै मृत्यु भएको छ।

गत चैत २ गते राति एक्कासी उनको पेट दुखेपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।

तीनै जनाको शव नेपाल ल्याउनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024